काभा च्याम्पियन्स लिगमा हेल्प नेपालले काजकिस्तानको क्लबलाई हरायो

रुपन्देही खबर , ८८  पटक हेरिएको

काठमाण्डाै,साउन ५

माल्दिभ्समा चलिरहेको काभा पुरुष च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले काजकिस्तानको जायक भलिबल क्लबलाई हराएको छ ।

आज भएको खेलमा हेल्प नेपालले जायकलाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट २५–२२, चौथो सेट २५–१८ र पाँचौं सेट १५–११ ले जित्यो । जायकले दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२३ ले जित्यो । प्रतियोगितामा नेपाली लिग च्याम्पियन हेल्प नेपालको यो चौथो खेल हो । हेल्प नेपालले पहिलो खेलमा घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३–२ र दोस्रो खेलमा माल्दिभ्सकै क्लब एचडीसीलाई ३–१ को सेटमा हराएको थियो । तेस्रो खेलमा भने हेल्प नेपाल किगिस्तानको क्लब बिस्केकसँग ३–२ को सेटमा पराजित भएको थियो ।

सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेतासमेत गरी ६ वटा टोली सहभागी छन् । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एशियन क्लब च्याम्पियनशिप खेल्न पाउनेछ ।

प्रकाशित मिति: २०२५-०७-२१ , समय : २२:०६:२९ , १ हप्ता अगाडि