रुपन्देही खबर , ८१ पटक हेरिएको

काठमाण्डाै ,साउन १४
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि गरिएको मूल्याङ्कनमा देशको आर्थिक वृद्धिदर, मानव विकास सूचकाङ्क र शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार निर्णायक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ‘एलडीसी ग्रेजुएशन’ सम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोना महामारीको असरका बाबजुद नेपालको अर्थतन्त्र नकारात्मक दिशामा नजानु एक महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले कोरोना महामारीपछिको सरकारको मेहनत र कदमले, पुनर्स्थापना क्षमताले नेपाललाई एलडीसीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि उपयुक्त देश बनाएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘७ प्रतिशतको आर्थिक वृद्धिदर, मानव सूचकाङ्कको तीव्र विकास, शिक्षा, स्वास्थ्यको तीव्र विकास भएका कारण एलडीसी ग्रयाजुएशनको मूल्याङ्कन भएको थियो । तर मूल्याङ्कन भएको सन् २०२० र २०२१ मा कोरोना भाइरसले विश्वलाई नै अत्यन्तै नराम्ररी प्रभावित गरेको थियो । र विश्वको अर्थतन्त्र नकारात्मकमा गएको थियो । त्यति बेला नेपाल पनि न्यून नकारात्मक अवस्थामा पुगेको थियो । आर्थिक वृद्धिदर शून्य भए पनि नेपालको अर्थतन्त्र नकारात्मक दिशामा गएन । नेपालको त्यो प्रतिरोध क्षमतालाई हेरेर र त्यसभन्दा अगाडि वृद्धि गर्दै गरेको आर्थिक वृद्धिदर हेरेर नै यो मूल्याङ्कन भएको थियो । जे होस् आज हामी एलडीसीबाट विकासशील देशमा रूपान्तरित हुँदैछौँ ।’
प्रधानमन्त्री ओलीले सन् २०२६ मा विकासशील राष्ट्रमा उस्तरोन्नति हुँदासम्म कुनै पनि मापदण्डहरू बाँकी नराख्ने बताउनुभयो । अध्ययन प्रतिवेदनकाे सुझावका आधारमा सरकार अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएको भए पनि अहिलेसम्म अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन सकेको छैन । प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कका शर्तहरू पूरा गरेपछि स्तरोन्नति हुने विश्वव्यापी मान्यता छ । यी शर्तहरूमध्ये संयुक्त राष्ट्रसङ्घले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क पूरा गरेको भए पनि अहिलेसम्म विभिन्न कारणले स्तरोन्नति हुन सकेको छैन ।
प्रकाशित मिति: २०२५-०७-३० , समय : १९:०४:४२ , १९ घन्टा अगाडि