भैरहवामा मानव बेचविखन बिरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न

सीमाक्षेत्रमा हुने मानवता विरुद्धका अपराधमा सवै एकजुट भएर काम गर्नुपर्नेमा जोड

रुपन्देही खबर , १२२  पटक हेरिएको

भैरहवा, साउन १५

“विश्व मानव बेचविखन बिरुद्धको दिवश” को अवसर पारेर सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र अमेरिकन कर्नर भैरहवाले संयुक्त रुपमा मानव बेचविखन बिरुद्धको जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । विहिवार संघको सभाहलमा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका भित्र अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरु, पत्रकार तथा सरोकारवाला निकायको सहभागीमा कार्यक्रम गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघको सुचना शाखाले जनाएको छ ।

कार्यक्रममा अमेरिकन कर्नरका संस्थापक तथा बरिष्ठ पत्रकार दिलिप भट्टराईले यो कार्यक्रम सचेतनाका लागि आयोजना गरिएको भन्दै व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले सीमाक्षेत्रमा हुने मानवता विरुद्धका अपराधमा सवै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बेचविखन बिरुद्धको जनचेतना मूलक कार्यक्रमले समाजमा हुने विभिन्न घटनालाई न्यूनिकरण गर्न र मानव बेचविखन रोक्नका लागि सवैपक्षले पहल गर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक गणेश सापकोटाले कानुनले मानव बेचविखनलाई वर्जित गरेको भन्दै प्रहरीले यस्ता तत्वहरुलाई कडारुपमा कार्वाही गर्ने बताउनुभयो । उहाँले समाजमा यस्ता घटनाहरु वा यस्ता तत्वहरु देखिए प्रहरीलाई खवर गर्न पनि आग्रह गर्नुभएको छ ।


सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तवान अध्यक्ष तथा युवा व्यवसायी ठाकुर कुमार श्रेष्ठले अहिले २१ औँ सताव्दीमा पनि नेपालीहरु बेचिन्छन् भन्ने कुरा सुन्दा पनि दुःख लाग्ने गरेको बताउदै त्यस्ता तत्वलाई पूर्ण रुपमा नियन्त्रण गर्न सुरक्षा निकाय तथा यसको क्षेत्रमा काम गर्ने संघसंस्थालाई पहल गर्न आग्रह गर्नुभएको छ ।

यस्तै गरी माइती नेपाल भैरहवाका प्रमुख तथा कार्यक्रमका सहजकर्ता माया क्षेत्रीले नेपालबाट हुने मानव बेचविखनको विगत र वर्तमान अवस्थाको विषयमा जानकारी दिदै यसबाट बच्नका लागि अपनाउनुपर्ने विषयहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले बिशेष गरेर भारत तथा भारत हुदै तेस्रो मूलुकमा नेपालीहरु विभिन्न माध्यमबाट प्रलोभन पारि बेचिने क्रम रहेकाले यसलाई रोक्न सबैपक्षले काम गर्नुपर्ने बताउनुभयो ।
पहिल्लो समय नेपालबाट मानव बेचविखन बढदो रहेको भन्दै यसलाई न्यूनिकरणमा सवैपक्षले पहलगर्ने विषयमा गहन छलफल तथा अन्तरक्रिया भएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यकारी सचिव कमला बस्नेतले बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा अमेरिकी कर्नर समिति भैरहवाका संयोजक दिलिप कुमार कान्दुको स्वागत तथा सघका सुचना अधिकारी ज्योती पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति: २०२५-०७-३१ , समय : १७:३७:०२ , २२ घन्टा अगाडि