भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका ठगी अभियुक्त पक्राउ

रुपन्देही खबर , १०३  पटक हेरिएको

भैरहवा, साउन १६

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित मैनपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सेयरधनी तथा बचतकर्ताहरूको जम्मा रकम ५ करोड ९० लाख ८४ हजार १ सय ६६ रुपैयाँ (पाँच करोड नव्बे लाख चौंरासी हजार एक सय पैँसठी रुपैयाँ छयासठ्ठी पैसा) हिनामिना गरी फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उक्त सहकारी संस्थाको सदस्य रहेका चितवन राप्ती नगरपालिका–२ का गडौली स्थायी बासिन्दा हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने रामहरि सिलवाललाई काठमाडौंबाट पक्राउ गरिएको हो । सिलवाल विरुद्ध रुपन्देही जिल्ला अदालतमा सहकारी ठगी तथा ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिनु भएको छ ।

फरार अभियुक्तलाई खोजी भइरहेकोमा, अपराध अनुसन्धान शाखा कार्यालय टेकु, काठमाडौंको सहयोगमा बिहीबार पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २०२५-०८-०१ , समय : २१:२१:५९ , १४ घन्टा अगाडि