भन्सार नाकामा दोहोरो कर असुलीविरुद्ध सिद्धार्थ सञ्जालको ध्यानाकर्षण

रुपन्देही खबर , १४४  पटक हेरिएको

भैरहवा, साउन १९

लुम्बिनी प्रदेश अन्तर्गत बेलहिया नाकामा संघीय सरकारबाट अस्थायी पैठारी सवारी साधनमा भन्सारमै महसुल तिरेपछि पुनः प्रदेश सरकारद्वारा गरिएको दोहोरो कर असुलीप्रति सिद्धार्थ सञ्जाल रूपन्देहीले गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ।

सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संघीय सरकारले २०८२÷०८३ को बजेट वक्तव्यमा भन्सार बिन्दुमा महसुल संकलन गरेपछि पुनः प्रदेश वा स्थानीय तहले अतिरिक्त प्रवेश शुल्क, दस्तुर वा अन्य महशुल लिन नपाउने स्पष्ट व्यवस्था गरे पनि लुम्बिनी प्रदेश सरकारले बेलहिया नाकामै भन्सार क्षेत्रभित्रै कर असुली गर्दै आएकोप्रति चिन्ता व्यक्त गरिएको छ।

ज्ञापनपत्रमा उल्लेख छ कि उक्त नाका हुँदै गण्डकी, वाग्मती लगायत प्रदेशतर्फ गइरहेका सवारी साधनलाई सम्पूर्ण अवधिको कर असुली गर्नु व्यवहारिक नभएको भन्दै, यसले पर्यटक र स्थानीय व्यवसायमा प्रतिकूल असर पारिरहेको बताइएको छ ।

“रुपन्देहीको पर्यटन व्यवसाय यस प्रकारको दोहोरो कर प्रणालीका कारण गम्भीर संकटमा पर्ने देखिन्छ,“ ज्ञवालीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ । सञ्जालले संघीय कानुनअनुसार एक पटक कर तिरिसकेपछि पुनः असुली नगरिनु पर्ने स्पष्ट गर्दै सम्बन्धित निकायलाई यस्ता कार्य नगर्न र नगराउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०२५-०८-०४ , समय : १०:४०:१२ , २ दिन अगाडि