रुपन्देहीको बुटवलमा होटलमा  बसेका एक जोडी मृत अवस्थामा फेला

प्रेम सुनार , ३८९  पटक हेरिएको

बुटवल, साउन ३१

रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहस्यमय रुपमा एक जोडी मृत फेला परेका हुन ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।

‘युवतीको नाम पुष्पा भनिएपनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन, दाङ्गतिर घर भनिएको छ । श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ प्रहरी निरीक्षक घिमिरेले भन्नु भयो । युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताउनु भएको छ । उहाका अनुसार उनीहरु आइतबार राति त्यस होटलमा बस्न आएका थिए । युवकको धादिङ्गको कुमपुर-५ ठेगाना भएको बताइएको छ ।

उनिहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भैरहेकोे  प्रहरी निरीक्षक घिमिरले  बताउनु भयो ।

प्रकाशित मिति: २०२२-०८-१६ , समय : ११:००:३९ , २ वर्ष अगाडि