सम्भाव्या परियोजनाको चार दिने आवासीय कार्यशाला इटहरीमा सुरु

रुपन्देही खबर , १२९  पटक हेरिएको

सुनसरी, भाद्र १

युवा सशक्तिकरण र समावेशी नेतृत्व विकासलाई केन्द्रबिन्दु बनाउँदै “सम्भाव्या परियोजना” अन्तर्गत चार दिने आवासीय कार्यशाला शुक्रबारदेखि इटहरी, सुनसरीमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन कोशी प्रदेश सभा सदस्य सपना परियारले गर्नुभएको छ । उद्घाटन गर्दै उहाके युवाले सामाजिक रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने भएकाले सम्भाव्या जस्तो परियोजनाले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भएको छ । “युवाको सक्रियता र नेतृत्वबिना समावेशी समाजको परिकल्पना गर्न सकिन्न, त्यसैले यस्ता कार्यक्रमले विशेष महत्व राख्छन्,” उहाले भन्नू भयो ।

कार्यशालामा प्रोजेक्ट म्यानेजर दीपा राईले अध्यक्षता गर्दै, सम्भाव्या परियोजनाले युवा सहभागिता, नेतृत्व क्षमता अभिवृद्धि तथा यौन–प्रजनन स्वास्थ्य र अधिकारका क्षेत्रमा बलियो आधार तयार गर्ने लक्ष्य रहेको बताउनु भएको छ ।

त्यसैगरी, युवा विकास केन्द्रका कार्यकारी निर्देशक निराजन खड्काले संस्थागत दृष्टिकोण प्रस्तुत गर्दै युवालाई आवश्यक ज्ञान, सीप र स्रोतको पहुँच सुनिश्चित गर्न निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

युवा अभियन्ता सुसिल राजभरले अनुभव साझेदारी गर्दै समाजमा सकारात्मक रुपान्तरणका लागि युवा शक्तिको सहि सदुपयोग अपरिहार्य रहेको धारणा राख्नु भएको थियो ।

चार दिनसम्म चल्ने कार्यशालामा सहभागी युवाले नेतृत्व, लैङ्गिक समानता, सामाजिक समावेशिता, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, मर्यादित महिनावारी, परियोजना व्यवस्थापनलगायतका विषयमा समूहगत तालिम लिनेछन्। यसले युवामा आत्मविश्वास अभिवृद्धि गर्ने, सामाजिक उत्तरदायित्वबारे सचेत गराउने र समावेशी समाज निर्माणमा योगदान गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

सोसल मिडिया लिड मनीषा न्यौपानेले सम्भाव्या परियोजनाबारे जानकारी दिंदै, “करिब तीन महिनाअघि हामीले सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा परियोजना सुरु गरेका थियौँ। यस अवधिमा युवाबाट निकै उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। लामो प्रतीक्षापछि आज सुरु भएको वर्कसपले परियोजनालाई थप उचाइमा पुर्‍याउनेछ,” भन्नू भयो ।

कार्यशाला युरोपियन युनियन यूथ साउन्डिङ बोर्ड नेपाल (EU YSB) को Gender Thematic Groupको आयोजनामा सञ्चालन भइरहेको हो। कार्यक्रममा युवा विकास केन्द्र तथा रेनबो डिसएबिलिटी नेपाल (अपाङ्गता भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूसँग काम गर्ने पहिलो संस्था) को सहकार्य रहेको छ।

प्रकाशित मिति: २०२५-०८-१७ , समय : १८:३३:४० , ३ घन्टा अगाडि