रुपन्देही खबर , १२४ पटक हेरिएको

भैरहवा,भदौ २
रुपन्देही प्रहरीले जिल्लाभर सञ्चालन गरेको चेकजाँच अभियानमा भन्सार छली गरी ल्याइएका करिब ५२ लाख ५२ हजार ७ सय ९० बराबरका विभिन्न सामान बरामद गरेको छ । बरामद गरिएका सामानहरू राजश्व अनुसन्धान कार्यालय बुटवल, भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सिद्धार्थनगर–१ मेडिकल कलेज नजिक चेकजाँच गर्दा ई–रिक्सा र स्कुटरमार्फत ल्याइएको ४० केजी बोईलर कुखुराको मासु, दुई बोरा (करिब १०० केजी) चिनी र ओरीयो बिस्कुटसहित करिब रु. २ लाख ३४ हजार मूल्यका सामान बरामद गरेको हो । सो क्रममा रुपन्देही रानीगाउँ बस्ने ४३ वर्षीय कन्हैया पासी र नवलपरासी रामग्राम–५ बस्ने २६ वर्षीया उषा यादवलाई नियन्त्रणमा लिइएको छ ।
यसैगरी, वडा प्रहरी कार्यालय भैरहवाको टोलीले सिद्धार्थनगर–८ अंचलपुरस्थित क्षेत्रमा बेवारिसे अवस्थामा रहेका १०० थान Apple AirPods र १०० थान मोबाइल क्लिनर बरामद गरेको छ, जसको मूल्य करिब रु. ४३ लाख २९ हजार ८४० बराबर रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीले कोटहीमाई–१ पतजियामा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमार्फत ल्याइँदै गरिएको १५ थान साडी र १९ थान कपडा बरामद गरेको छ, जसको मूल्य रु. ८० हजार रहेको बताइएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय बेलहियाले सिद्धार्थनगर–१ बसपार्क क्षेत्रमा गरिएको चेकजाँचमा लेडिज टप्स, साडी, सुट, लेहेङ्गा चोली, कपडा बन्डल र किराना सामानसहित करिब रु. १ लाख ३९ हजार ६०० बराबरका सामान नियन्त्रणमा लिएको छ ।
मायादेवी गाउँपालिका–६ सानो दुर्गौलियामा इलाका प्रहरी कार्यालय मझगाँवा र प्रहरी चौकी हाटिबनगाईको संयुक्त टोलीले दुईवटा मोटरसाइकलमार्फत ल्याइँदै गरिएको २८० जोडी लेडिज चप्पल, ९० जोडी जेन्स चप्पल र जुत्ता–झोलाको कच्चा पदार्थ ५ रोल बरामद गरेको छ । बरामद सामानसहितको मूल्य करिब रु. ३ लाख ६९ हजार ४०० रहेको छ ।
प्रहरी चौकी मेउडिहवाको टोलीले सिद्धार्थनगर–२ झुण्डीबजारमा चेकजाँच गर्ने क्रममा १२० थान महिला भित्री वस्त्र, ३६० थान टप र ४७ थान सानो चिसोसहित करिब रु. ५० हजार १५० बराबरको सामान बरामद गरेको छ ।
यस्तै, प्रहरी चौकी पिप्रहवाको टोलीले रोहिणी गाउँपालिका–४ खुरहुरियामा चेकजाँच गर्दा ५३६ वटा कुखुराका चल्ला र ३० वटा (६० केजी) कुखुरा बरामद गरेको छ, जसको मूल्य करिब रु. ४९ हजार ८०० पर्छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सम्पूर्ण सामान र संलग्न व्यक्तिहरूमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको छ ।
प्रकाशित मिति: २०२५-०८-१८ , समय : ११:४१:५३ , ३ घन्टा अगाडि