रुपन्देही खबर , ४८ पटक हेरिएको

भैरहवा,भदौ २
रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलोग्राम र स्टिकर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको कानपुर नौवस्ती घर भई हाल बेलहिया बसपार्क क्षेत्रमा बस्दै आएका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार १ भदौ साँझ साढे ६ बजेको समयमा बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेका यादवलाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो । सो क्रममा प्रहरीले उनलाई खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद्, राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् लगायतका नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली प्रमाणपत्र, होलोग्राम, स्टिकर र विभिन्न स्टाम्पहरू बरामद गरेको जनाएको छ ।
बरामद सामग्रीमध्ये त्रिभुवन विश्वविद्यालयका सयौँ Transcript र Certificate, अमिटी विश्वविद्यालय, जवाहरलाल नेहरू प्राविधिक विश्वविद्यालय हैदराबाद, छत्रपति शाहु जी महाराज विश्वविद्यालय कानपुर, आसाम हायर सेकन्डरी एजुकेशन काउन्सिल, कुरुक्षेत्र विश्वविद्यालय र आन्द्र विश्वविद्यालयका नक्कली मार्कसिट, चरित्र प्रमाणपत्र, माइग्रेसन सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट लगायतका कागजातहरू रहेका छन् । साथै, हजारौँको संख्यामा त्रिभुवन विश्वविद्यालय, HSEB, राष्ट्रिय परीक्षा बोर्ड (NEB), CTEVT लेखिएका होलोग्राम स्टिकर पनि फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।
त्यसैगरी अमिटी विश्वविद्यालय, आसाम हायर सेकन्डरी एजुकेशन काउन्सिल, छत्रपति शाहु जी महाराज विश्वविद्यालय लगायतका संस्थाका नाममा प्रयोग हुने स्टाम्प, स्टाम्प प्याड र ब्लाङ्क लेटर प्याड पनि बरामद गरिएको छ ।
अन्य सामग्रीमा एचपी कम्पनीको ल्यापटप, एक थान आइफोन, रियलमी मोबाइल, चार थान पेनड्राइभ, विभिन्न चार्जर, तीन थान एटीएम कार्ड, भारतीय रुपैयाँ १८ हजार ७३० र नेपाली रुपैयाँ ३ हजार २० समेत फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी कारबाही अगाडि बढाइएको डिएसपी कार्कीले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२५-०८-१८ , समय : १८:५८:१० , ३ घन्टा अगाडि