रुपन्देहीमा सहकारी अध्यक्षमाथि पेट्रोल छर्की आक्रमण

एकजना प्रहरीको नियन्त्रणमा

रुपन्देही खबर , ४२  पटक हेरिएको

रुपन्देही,भदौ २

रुपन्देहीको कोटहीमाई गाउँपालिका–३ मर्यादपुरमा युरिया खाद नपाएको भन्दै सहकारी अध्यक्षमाथि पेट्रोल छर्की आक्रमण भएको छ । आज मंगलबार दिउँसो करिब १२:०० बजे गणेश साझा सहकारी संस्थाका अध्यक्ष, ५७ वर्षीय रामपृत राजभरलाई बाटोमा हिँडिरहेका बेला सोही ठाउँका ४३ वर्षीय चन्द्रमोहन गुप्ताले पछाडिबाट मिनी पानीको बोतलमा ल्याएको पेट्रोल छर्की आक्रमण गरेका हुन् ।

गुप्ता सहकारीमार्फत कृषकलाई वितरण हुने युरिया खाद नपाएको भन्दै असन्तुष्ट रहँदै आएका थिए । यही कारणले उनले अध्यक्ष राजभरमाथि पेट्रोल छर्की आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय मझगाँवबाट खटिएको प्रहरी टोलीले गुप्तालाई दिउँसो करिब २:३० बजे नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२५-०८-१८ , समय : २०:०८:३६ , ३ घन्टा अगाडि