रुपन्देहीमा करिब ७ लाख ४० हजार रुपैया बराबरको अवैध सामान बरामद

रुपन्देही खबर , १६७  पटक हेरिएको

भैरहवा, भदौ ३

रुपन्देही प्रहरीले दुई दिनको अवधिमा विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा करिब सात लाख ४० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर–२ शंकरपुर र मायादेवी–५ गोनाहाबाट तीनवटा मोटरसाइकलमा ल्याउँदै गरेको कपडा, भित्री बस्त्र, जेब्रा झोला, टायल, नरिवल र जाइफलसहित करिब तीन लाख ३९ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएका छन् ।

त्यसैगरी सिद्धार्थनगर–८ बुद्धचोकमा प्रहरीले चेकजाँच गर्दा लेडिज चप्पल, ताल्चा, भित्री बस्त्र र तरकारी गरी एक लाख ६० हजार रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ ।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका–१ नन्दनगरमा मोटरसाइकलमार्फत ल्याउँदै गरिएको ४८ वटा बोइलर कुखुरासहित करिब ८० हजार रुपैयाँ बराबरको कुखुरा प्रहरीले नियन्त्रणमा लिएको हो । सोही क्रममा रोहिणी गाउँपालिका–७ सेमरामा बेवारिसे अवस्थामा रहेको एसीमा प्रयोग हुने Danfoss कम्पनीको कम्प्रेसर समेत फेला परेको छ, जसको मूल्य करिब १ लाख ५८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालय बेलहिया बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२५-०८-१९ , समय : १६:२७:०९ , २१ घन्टा अगाडि