रुपन्देहीमा ५ लाख ६६ हजारभन्दा बढीको अबैध सामान बरामद

रुपन्देही खबर , ८५  पटक हेरिएको

भैरहवा, भदौ ४

रुपन्देही प्रहरीले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली चोरी पैठारी गरिएको करिब ५ लाख ६६ हजार ६८० रुपैयाँ बराबरको सामान बरामद गरेको छ। बरामद सामग्री भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार रोहिणी गाउँपालिका–२ र ४ बाट दुईवटा मोटरसाइकलसहित ८४ थान जेन्ट्स टिसर्ट र ९७ वटा बोईलर कुखुरा बरामद गरिएको छ। ती सामानको मूल्य करिब २ लाख ६२ हजार ८८० रुपैयाँ बराबर रहेको छ।

त्यस्तै, रोहिणी गाउँपालिका–७ सेमराबाट संयुक्त प्रहरी टोलीले करिब ८० हजार रुपैयाँ मूल्य बराबरको ३ फेज कम्प्रेसर बरामद गरेको छ।

सिद्धार्थनगर नगरपालिका–१ बाइपास क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलहियाले करिब २ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको विभिन्न किराना सामान नियन्त्रणमा लिएको छ भने सोही नगरपालिका–११ बर्की पिपरहियाबाट प्रहरी चौकी मेउडिहवाले करिब १८ हजार ८०० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको जनाएको छ।

बरामद गरिएका सबै सामान सम्बन्धित कार्यालयमा बुझाइएको र आवश्यक कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो।

प्रकाशित मिति: २०२५-०८-२० , समय : १२:१२:४८ , ७ घन्टा अगाडि