रुपन्देही खबर , १०० पटक हेरिएको

काठमाडौं, भदौ ४
नेपाल आयल निगमले रुपन्देही जिल्लामा अत्याधुनिक प्रविधि सहितको भण्डारण गृह निर्माणको लागि डिपिआर तयार पारेको छ । बुधबार निगमको सिनामंगलस्थित कार्यालयमा काठमाडौ विश्वविद्यालयले डिपिआर हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा काठमाडौ विश्वविद्यालयका हेड अफ फाइनान्सका प्रमुख कुमार बराल,काठमाडौ विश्वविद्यालयका डा. विवेक बराल निगमका पुर्व कार्यकारी निर्देशक ई.सुशिल भट्टराई, निगमका उपनिर्देशक रामहरि निरौला, सहायक प्रबन्धक ई.अनुपम पराजुली, लेखा प्रमुख प्रचण्ड पाठकलगायतको उपस्थित रहेको थियो ।
नेपाल आयल निगम लिमिटेड, भण्डारण क्षमता अभिवृद्धि परियोजना सम्बन्धि प्रेस वक्तव्य यस्तो रहेको छ:
उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री माननीय दामोदर भण्डारीज्यू र नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टज्यूको विशेष निर्देशनमा रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकास्थित साढे २५ बिघा क्षेत्रफलमा नयाँ र आधुनिक सुविधा सम्पन्न इन्धन डिपोसहितको लुम्बिनी प्रादेशिक कार्यालय चालू आर्थिक बर्ष ०८२-८३ बाट निर्माण कार्य प्रारम्भ हुन लागेको जानकारी गराउन चाहन्छौं।
पावन भूमी लुम्बिनीमा नेपाल आयल निगम लिमिटेडले निर्माण गर्न लागेको अत्याधुनिक प्रविधिको नयाँ इन्धन डिपोको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) हस्तान्तरण कार्यक्रममा उपस्थित सम्पूर्ण संचारकर्मी मित्रहरुलाई हार्दिक स्वागत गर्न चाहन्छौं।
हाल संचालनमा रहेको लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी (रुपन्देही) साँघुरो, घनाबस्ती बीचमा र बर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सरकार र आयल निगमले आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माणको आवश्यकता महसुस गरेर रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको जग्गामा नयाँ इन्धन डिपो निर्माण गर्ने निर्णय गरे बमोजिम काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डिपिआर तयार गरिएको छ।
२०८१ साल मंसिर १२ गते काठमाडौं विश्वविद्यालय, कन्सल्टेन्सी सेवा विभाग र आयल निगम, भण्डारण क्षमता वृद्धि परियोजनाबीच डिपिआर निर्माणका लागि भएको सम्झौताअनुसार तयार भएको डिपिआर आज हस्तान्तरण भएको छ ।
रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरेको छ। सो क्षेत्रमा रहेको थप साढे ८ बिघा पर्ति जग्गा निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय तथा जिल्ला प्रशाशन कार्यालय, रुपन्देहीबाट आवश्यक पहलकदमी भइसकेको छ । जग्गा प्रवेश गर्ने मुलबाटोसँग जोडिएको करिब साढे पाँच बिघा पनि जग्गा प्राप्ती ऐन, ०३४ अनुसार प्राप्ती गर्न प्रकृया थालनी भइसकेको छ। यसरी करिब साढे २५ बिघा फराकिलो क्षेत्रफलमा आयल निगमको आधुनिक र सुविधा सम्पन्न लुम्बिनी प्रादेशिक कार्यालय निर्माण हुने प्रकृया अघि बढेको छ।
उक्त स्थानमा इन्धन डिपो निर्माणका लागि रोहिणी र ओमसतिया गाउँपालिकाबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको छ भने पर्ती जग्गा भोगचलन गरीरहनु भएका ९७ जना स्थानीयले डिपो निर्माणका लागि आवश्यक सहयोग र समन्वयन गर्न लिखित सहमति तथा प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ।
रोहिणी नदी किनारमा रहेको जग्गामा २०८१ साल बैशाख ५ गते ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादव र रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवसहितका जनप्रतिनिधिहरुको बाक्लो उपस्थितिमा भूमी पुजन गरी निर्माण कार्यको थालनी भएको थियो। एक बर्षको अवधिमा भूमी सम्याउने र नदी किनारमा ग्याबियन जाली, रिटेनिङ्ग वाल आदि निर्माण गरी जग्गाको संरक्षण गर्ने कार्य सम्पन्न गरेर डिपो निर्माणका लागि तयारी अवस्थामा राखिएको छ। जग्गा परिसरमा साइट कार्यालय संचालनमा ल्याइसकिएको छ भने चारै किल्लामा सुरक्षा गार्ड पोष्ट निर्माण गरी सुरक्षाकर्मीसमेत परिचालन गरी जग्गाको नियमित रुपले संरक्षण गर्ने कार्य भइरहेको छ। जग्गाको सम्मुखमा प्रवेशद्वार समेत निर्माण गरिएको छ।
२१०० कि.लि. क्षमताको २ वटा भर्टिकल ट्यांक ७६० कि.लि. क्षमताको १ वटा ट्यांक भर्टिकल ट्यांक
डिजेल ४५०० कि.लि क्षमताको ३ वटा भर्टिकल ट्यांक, कुल क्षमता- १३,५०० कि.लि.
पेट्रोल २१०० कि.लि क्षमताको २ वटा भर्टिकल ट्यांक ७६० कि.लि क्षमताको १ भर्टिकल ट्यांक, कुल क्षमता- ४,९६० कि.लि.
मट्टीतेल ७६ कि.लि क्षमताको ३ वटा भर्टिकल ट्यांक कुल क्षमता- २२८ कि.लि.
यहाँ निर्माण हुने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिनालाई धान्ने माग बराबरको पेट्रोलियम पदार्थ मौज्दात गर्न सकिनेछ । डिपो भिन्त्र अग्नी सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताको दुई वटा पानी ट्यांकी निर्माण हुनेछन् । जसमा कूल ४,२०० किलोलिटर पानी भण्डारण हुनेछ। इन्धन लोडिङ सेडमा ८ बटा ‘बे’ र अनलोडिङ सेडमा पनि ८ वटा ‘वे’ निर्माण हुनेछ।
पूर्ण रुपले अटोमेसनमा आधारित डिपो निर्माणका लागि जग्गा विकास, पर्खाल, पहुँच मार्ग, इन्धन भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण, विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृह, महिला तथा पुरुष आर्मीको लागी छुट्टाछुट्टै आवास गृह, ट्यांकर चालक आराम गर्ने संरचना, सुरक्षा पोष्ट, ट्यांकर पार्किङ क्षेत्रलगायतका संरचनाहरु डिपो हाता भित्र निर्माण हुनेछ । यस कार्यका लागि कर बाहेक ५,७९,३०,६४,९४१.५१ (अक्षरेपीः पाँच अर्ब ७९ करोड ३० लाख ६४ हजार नौ सय ४१ रुपैयाँ ५१ पैसा) लागत अनुमान तयार गरिएको छ।
नयाँ डिपोको आवश्यकताबारे
लुम्बिनी प्रदेशमा इन्धन बितरणका लागि नेपाल आयल निगम लिमिटेडले हाल रुपन्देहीको भलवारीमा प्रादेशिक कार्यालय संचालन गरिरहेको छ। करिब साँढे पाँच बिघा जमिनमा फैलिएको डिपोमा न्यून भण्डारण क्षमता रहेको छ। हाल भलवारी डिपोमा पेट्रोलका लागि ५ सय १९ किलोलिटर, डिजेलका लागि ३ हजार ४० किलोलिटर र मट्टितेलका लागि २ सय ८० किलोलिटर क्षमताको भण्डारण गृह रहेको छ। बर्तमान समयको खपत परिमाणको तुलनामा हालको भण्डारण क्षमता अत्यन्त न्यून हो। सोही स्थानमा भण्डारण क्षमता वृद्धि गर्नका लागि जग्गा अभाव अर्कातिर, बुटवल-भैरहवा मुख्य राजमार्गसँगै जोडिएको र घना बस्तीको बीचमा रहेको डिपोबाट दैनिक र नियमित रुपले पेट्रोलियम जस्तो प्रज्वलनशील पदार्थको कारोबार हुँदा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयले डिपो स्थानान्तरणका लागि निरन्तर खबरदारी र बिरोध प्रदर्शन गर्दै आएका छन् ।
यी नै कारणले गर्दा रुपन्देहीको भलवारीमा रहेको हालको डिपोलाई फराकिलो क्षेत्रफलमा सार्नुपर्ने दबाब भएकाले रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको करिब साढे २५ बिघा जमिनमा नयाँ र अत्याधुनिक इन्धन डिपो निर्माण कार्य अघि बढाउन लागिएको बिषय आम संचारकर्मीहरुको माध्यमबाट सरोकारवाला पक्ष सबैलाई जानकारी गराउन चाहन्छौं ।
धन्यवाद । ई. प्रदिप कुमार यादव, प्रमुख, भण्डारण क्षमता अभिवृद्धि परियोजना
प्रकाशित मिति: २०२५-०८-२० , समय : १५:४३:५१ , ४ घन्टा अगाडि