ओमसतियामा दिदीबहिनी भेटघाट तथा शुभकामना आदानप्रदान सम्पन्न

कार्यक्रम मार्फत शिक्षा,स्वास्थ्य र विकासका सन्देशहरू प्रवाह

रुपन्देही खबर , ८९  पटक हेरिएको

भैरहवा,भदौ ७

रुपन्देहीको ओमसतिया गाउँपालिकाले हरितालिका तीजको अवसरमा भड्किलोपनालाई त्याग्दै मौलिक संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले एक विशेष कार्यक्रम आयोजना गरेको छ । शुक्रबार गाउँपालिकाको कार्यालय, हाटी फर्साटिकरमा दिदीबहिनी भेटघाट तथा शुभकामना आदान प्रदान नाम दिइएको कार्यक्रममा शिक्षा, स्वास्थ्य र विकासका सन्देशहरू समेत प्रवाह गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले महँगा होटलमा गएर तीज मनाउनुको सट्टा जनताको आँगनमै सुखदुःख साटेर पर्व मनाउनुको छुट्टै महत्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, हामी जनताको जनप्रतिनिधी हौं, त्यसैले जनतालाई छोडेर महँगा होटलमा गएर भड्किलो तीज मनाएनौं । यहीँ जनताको बीचमा दुःखसुख बाँडेर रमाइलो गरौंला भनेर कार्यक्रम आयोजना गरेका हौं । उहाँले सबै दिदीबहिनीको सहज पहुँच र मौलिकता, शिक्षा, स्वास्थ्य तथा विकास झल्किने गीतहरू प्रस्तुत गर्न पालिकामा कार्यक्रम राखिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोखरेलले वडाहरूमा छुट्टाछुट्टै कार्यक्रम गर्नुभन्दा पालिकामा संयुक्त रूपमा आयोजना गर्दा आपसी चिनजान, सद्भाव र एकता बढ्ने विचार व्यक्त गर्नुभयो । पहिले वर्षभरिका दुःख बिसाउने पर्वको रूपमा रहेको तीज समयसँगै सबै नेपाली महिलाको साझा पर्व बन्दै गएकोमा वक्ताहरूले जोड दिएका थिए ।

कार्यक्रमको एक विशेष आकर्षणको रूपमा गाउँपालिकाका कर्मचारीहरूले गीतको माध्यमबाट कार्यालयबाट प्रदान गरिने सेवाहरूका बारेमा जानकारी प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई मनोरञ्जनात्मक मात्र नभई सूचनामूलक पनि बनाएको थियो । कार्यक्रममा वडा अध्यक्षहरू प्रकाश सिंह चौधरी, बेलबहादुर बराल मगर लगायत पालिका सदस्य तथा वडा सदस्यहरूले पनि शुभकामना मन्तव्य दिनुभएको थियो । महिला तथा बालबालिका शाखा प्रमुख निर्मला पाण्डेले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रमको सञ्चालन राजस्व शाखा प्रमुख अमृत पाण्डेले गर्नुभएको थियो । पालिकाका विभिन्न समूहहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप जीवन्त बनेको थियो ।

प्रकाशित मिति: २०२५-०८-२३ , समय : ०९:२४:४१ , ५ घन्टा अगाडि