रुपन्देहीमा करिब १७ लाख बराबरको अबैध सामान बरामद

रुपन्देही खबर , १०९  पटक हेरिएको

भैरहवा,भदौ १२

जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका युनिटले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा करिब १७ लाख रुपैयाँ बराबरका अबैध सामान नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद गरेका ती सामान राजश्व अनुसन्धान कार्यालय बुटवल, भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाइन कार्यालय बेलहियामा बुझाएको छ।

प्रहरीका अनुसार नवलपरासी पालिनन्दन गाउँपालिका–१ का ४८ वर्षीय घनश्याम अहिरले चलाइरहेको लु १ च ४८०६ नम्बरको महिन्द्र पिकअपबाट ठूलो मात्रामा बिउजन्य सामग्री बरामद गरिएको हो। उक्त पिकअपमा ३५–३५ किलोको तोरी बिउका ८ बोरा, २० किलोको प्याजको बिउ १ बोरा र ३०–३० किलोको मटरको बिउ २ बोरा रहेको जनाइएको छ। यी सामग्रीसहित चालक र गाडीलाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ। बरामद सामानको मूल्य करिब १५ लाख १३ हजार रुपैयाँ पर्ने बताइएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर–१ बेलहिया बाइपासमा चेकजाँच गर्ने क्रममा Dot and kye कपडा १२४ थान, फेस सिरम १४ थान र सुट २१ थान बरामद गरेको छ। यी सामग्रीको मूल्य करिब १ लाख ४५ हजार रुपैयाँ हुने प्रहरीको भनाइ छ। बरामद सामान भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ।

यता प्रहरी चौकी मैनिहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ ईदगाहास्थित चेकजाँच गर्दा लु १७ प ६७२६ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरिएको २२ पिस बोइलर कुखुरा समेत बरामद गरेको छ। उक्त कुखुराको मूल्य करिब ५८ हजार ८ सय रुपैयाँ बराबर हुने जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार प्रहरीले भन्सार छली गरी चोरी–पैठारी गर्ने गतिविधि नियन्त्रण गर्न विशेष निगरानीलाई कडाइ गरेको छ।

प्रकाशित मिति: २०२५-०८-२८ , समय : १८:२७:३१ , ५ घन्टा अगाडि