रुपन्देही खबर , ३० पटक हेरिएको

काठमाण्डाै,भदौ १२
उखु किसानको काठमाण्डौ केन्द्रित आन्दोलनको आज पाँचौं दिन भएको छ । गएको आइतवारदेखि माइतीघर मण्डलमा आन्दोलन शुरू गरेका उनीहरूले अनुदानको ७० रुपैयाँ पाउनुपर्ने अडान राख्दै आएका छन् । उखु धेरै उत्पादन हुने तराई/मधेशका किसान आन्दोलनमा छन् । आन्दोलनमा सहभागी कतिपय किसान बिरामीसमेत पर्न थालेका छन् ।
यसअघि अस्ति मङ्गलवार सरकारले उखु किसानलाई अनुदानको रकम ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको थियो । याे रकम प्रतिक्विन्टल ३५ रुपैयाँ हुन आउँछ । यो रकम किसानको खातामा जाने क्रममा छ । तर यसअघि सरकारले उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ किसानलाई दिँदै आएको थियो । उखु बिक्रीबापत पाउनुपर्ने अनुदान रकम सरकारले आधाले घटाएसँगै अहिले किसानले काठमाण्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
उखु किसानको आन्दोलनका केन्द्रीय प्रवक्ता एवम् उखु उत्पादक महासङ्घ लुम्बिनी प्रदेशका संयोजक उमेशचन्द्र यादवले सरकारसँग वार्ता भइरहेको तर आफूहरूको माग यथावत् नै रहेको बताउनुभएको छ । यसैबीच जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माइतीघर पुगेर उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएको छ । सरकारले उखु किसानलाई दिने भनेको अनुदान तत्काल उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रकाशित मिति: २०२५-०८-२८ , समय : २०:४१:२० , ३ घन्टा अगाडि