रुपन्देही खबर , ७२ पटक हेरिएको

रुपन्देही,भदौ १६
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार मिति २०८२ भदौ १६ गते रुपन्देहीका विभिन्न क्षेत्रमा खटिएका प्रहरी टोलीहरूले भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामानहरू नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाइन कार्यालय बेलहियामा बुझाइएको छ ।
रोहिणी गाउँपालिका–३ मझौलीबाट प्रहरी टोलीले मोटरसाइकलमार्फत ल्याइएका ५६ वटा कुखुरा बरामद गरेको छ भने सेमरा क्षेत्रबाट ३६ वटा कुखुरा बरामद गरिएको छ । त्यस्तै ओमसतिया गाउँपालिका–२ बिरनगरमा प्रहरीले १५० केजी कुखुराको मासु र १९ वटा जिउँदा कुखुरा नियन्त्रणमा लिएको छ । यस क्रममा देबदह नगरपालिका–११ का २९ वर्षीय लक्षुमण साहानीलाई पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।
साथै, सिद्धार्थनगर नगरपालिका–१ मा गरिएको चेकजाँचमा भैंसीका दुई पाडा, सुट, लेडिज टप्स, रेड चिल्ली सस र विभिन्न प्रकारका औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भारत, महाराजगंज निवासी १६ वर्षीय गोलु खानलाई समेत पक्राउ गरिएको छ । बरामद सामानको कुल मूल्य करिब २ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार भन्सार छली सामानको कारोबार नियन्त्रणका लागि प्रहरीले निरन्तर कारबाही गरिरहेको छ । उहाँले यस किसिमका अबैध क्रियाकलापमा संलग्न जो कोहीलाई कानूनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति: २०२५-०९-०१ , समय : २२:४०:१४ , ४ घन्टा अगाडि