रुपन्देही खबर , २९१ पटक हेरिएको

भैरहवा,भदौ १८
रुपन्देही प्रहरीले पछिल्ला तीन दिनमा छुट्टाछुट्टै स्थानमा गरेको अपरेसनमा तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ घर भई हाल सिद्धार्थनगर–२, मेउडिहवामा डेरा गरी बस्दै आएका २६ वर्षीय इर्फान अन्सारी, सिनपा १ का २६ वर्षीय प्रेमलाल यादव र ओमसतिया गाउँपालिका–४, पननी बस्ने ३५ वर्षीय इरसाद प्रवेज रहेका छ्न ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यहि भदौ १५ गते राति साढे ८ बजे कोटहीमाई गाउँपालिका–५ घर भई हाल सिद्धार्थनगर–२, मेउडिहवामा डेरा गरी बस्दै आएका २६ वर्षीय इर्फान अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र मेउडिहवा प्रहरी चौकीबाट खटिएको टोलीले उनको डेरामा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने १ ग्राम ७३० मिलिग्राम खैरो पदार्थ बरामद भएको हो । अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी यही भदौ १६ गते बिहान १० बजेर ५० मिनेटमा सिद्धार्थनगर नगरपालिका–१, बन्दरगाहामा चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने २६ वर्षीय प्रेमलाल यादवलाई लागुऔषधसहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले यादवको साथबाट १ ग्राम ०३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । साथै उनको नाममा दर्ता लु.प्र.०१–००१ प १३५१ नं.को मोटरसाइकल, दुई थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
यस्तै गरि भदौ १७ गते बेलुकी साढे ४ बजेको समयमा रोहिणी गाउँपालिका–६, ललितपुर पकडिहवामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा ब्यूरो भैरहवा र इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको संयुक्त टोलीले ओमसतिया गाउँपालिका–४, पननीका ३५ वर्षीय इरसाद प्रवेजलाई नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा सवार प्रवेजलाई चेकजाँच गर्दा बायाँ तर्फको लेगार्डमा कालो प्लास्टिकमा बेरी राखिएको डाइजापाम, बुप्रेनोर्फिन र प्रमेथाजिन गरी जम्मा २९३ एम्पुल लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । साथै उनको घर खानतलासी गर्दा गहुँ राख्ने टिनको भकारीभित्र लुकाइ राखिएको अवैध नगद १० लाख २० हजार, स्पास्मो जस्तो देखिने २६० क्याप्सुल, मोटरसाइकल र एक थान ओप्पो मोबाइल समेत बरामद गरिएको हो ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान र आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०९-०३ , समय : १७:१६:४३ , १ दिन अगाडि