रुपन्देहीमा निषेधाज्ञा:पाँच जनाभन्दा बढी एक ठाउमा भेला हुन नपाइने

रुपन्देही खबर , १०९  पटक हेरिएको

भैरहवा, भदौ २४

रुपन्देही जिल्लामा सुरक्षा स्थिति संवेदनशील भएको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पुन:आजदेखि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा जारी आदेशअनुसार मिति २०८२ भदौ २४ गते विहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्म जिल्लाभर निषेधाज्ञा लागू गरिएको हो।

आदेशमा भनिएको छ, “जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपका कारण शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएकाले निषेधाज्ञा जारी गरिएको छ।”

निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका गतिविधि गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासनले आदेश उल्लंघन गर्ने वा आदेशको पालना नगर्ने व्यक्तिविरुद्ध प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति: २०२५-०९-०९ , समय : ०९:५२:१४ , १७ घन्टा अगाडि