लुटपाटमा संलग्न २७ जना पक्राउ : नगद र हतियारसमेत बरामद

रुपन्देही खबर , ५७  पटक हेरिएको

काठमाण्डौ,भदौ २५

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा लुटपाटमा संलग्न २७ जना पक्राउ परेका छन् । अहिलेको परिस्थितिको अनुचित फाइदा उठाउँदै विभिन्न ठाउँमा लुटपाटमा संलग्न व्यक्ति र उनीहरुबाट नगद तथा हतियार बरामद गरेको नेपाली सेनाले जनाएको छ । गौशाला–चाबहिल–बौद्धलगायतका क्षेत्रबाट लुटपाटमा संलग्न र उनीहरुको साथबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद भएको हो । यस्तै काठमाण्डौका विभिन्न ठाउँबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार र गोलीगठ्ठा समेत सेनाले बरामद गरेको छ । साथै, तीन वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने काम भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसैगरी नेपाल प्रहरीका २३ जना र तीन जना नागरिकको सैनिक अस्पतालमा उपचार भइरहेको छ । सडकमा परिचालन भएका सेनाले उच्छृंखल गतिविधि रोक्ने काम गरिरहेका छन् । सेनाले कतै उच्छृंखल गतिविधि भएको जानकारी वा सूचना प्राप्त भएमा खबर गर्न अनुरोध समेत गरेको छ । टोल छिमेकमा त्यस्ता गतिविधि भए सुरक्षा संयन्त्र पुग्नु अगाडि स्थानीयबासिन्दाले एकजुट भई स्थितिको निरन्तर निगरानी राख्न सेनाले आग्रह गरेको छ ।

प्रकाशित मिति: २०२५-०९-१० , समय : ११:५५:२८ , ६ घन्टा अगाडि