सात जना फरार कैदी प्रहरीको नियन्त्रणमा

रुपन्देही खबर , ९१  पटक हेरिएको

भैरहवा,भदौ २७

हालै देशभर प्रदर्शनका क्रममा विभिन्न कारागारमा तोडफोड र आगजनी भएपछि भागेका कैदीबन्दीमध्ये सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी टोलीले चितवन, नवलपरासी र केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चितवन कारागारबाट भारतका चार जना नागरिक पक्राउ परेका छन् । उनीहरूमा भारत्को हरियाना निवासी २४ वर्षीय सवारी अंगभंग मुद्दाका कैदी अब्बास खान, भारत उत्तर प्रदेश निवासी ४८ वर्षीय लागुऔषध मुद्दाका कैदी अनिल गिरी, सोही प्रदेशका ४१ वर्षीय लागुऔषध मुद्दाका कैदी राजपाल सिंह र ३८ वर्षीय सवारी ज्यान मुद्दाका कैदी मोनु कश्याब रहेका छन् ।

यस्तै, नवलपरासी कारागारबाट रुपन्देहीको सैनामैना नगरपालिका–७ निवासी ५२ वर्षीया बहु-बिवाह मुद्दाकी कैदी करिस्मा रानालाई नियन्त्रणमा लिइएको छ ।

केन्द्रीय कारागार काठमाडौंबाट भागेका तान्जानियाका दुई नागरिक पनि पक्राउ परेका छन् । उनीहरूमा ५३ वर्षीय रामधानी सिम्बा म्वाबुम्बाई र ४७ वर्षीय त्वालिब किपेवु पासुवा रहेका छन् । दुवै जनामाथि लागुऔषध (कोकिन) मुद्दा चलिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार फरार कैदीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति: २०२५-०९-१२ , समय : १५:४६:३९ , १८ घन्टा अगाडि