जसपा रुपन्देहीद्वारा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान

पार्टी एकताबद्ध भएर जनताको मुद्दामा लाग्नुपर्ने अध्यक्ष यादवको आग्रह

रुपन्देही खबर , १६६  पटक हेरिएको

भैरहवा,असोज २६

जनता समाजवादी पार्टी (जसपा), नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम तथा विस्तारित बैठक शनिबार भैरहवामा सम्पन्न गरेको छ । कार्यक्रम जसपा रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षता तथा जसपा नेपालका केन्द्रीय सदस्य कैलाश गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी गुरुङले जसपा जनताको हक, अधिकार र पहिचानका लागि निरन्तर लड्दै आएको उल्लेख गर्दै पार्टी संगठनलाई अझ सबल र सुदृढ बनाउन सबै तहका कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले “जसपा आन्दोलनबाट जन्मेको पार्टी भएको बताउदै यो दल जनताको आवाज भएको र जनताको अपेक्षाअनुसार काम गर्न सके जसपा नै देशको विकल्प बन्न सक्ने जिकिर गर्नु भयो ।

त्यस्तै, केन्द्रीय सदस्य निलम यादवले महिलाको सशक्तिकरण, शिक्षा र समान अवसरका लागि जसपाले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । उहाँले “राजनीतिमा महिलाको सहभागिता र नेतृत्व वृद्धि बिना समावेशी लोकतन्त्रको सपना पूरा हुन नसक्ने बताउदै जसपा यस दिशामा निरन्तर अग्रसर भएको उल्लेख गर्नु भयो ।

यस्तै गरी लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष रामअवतार यादवले प्रदेश र जिल्ला संगठनलाई सशक्त बनाउन पार्टी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताउँदै कार्यकर्ताहरूबीच आपसी विश्वास र सहयोगको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँल भन्नु भयो “हामी विचार, संगठन र जनताको विश्वासका माध्यमबाट बलियो राजनीतिक शक्ति बन्दैछौं ।”

त्यस्तै, प्रदेश कार्यकारिणी सदस्य बच्चुलाल केवटले युवालाई पार्टीमा अग्रभागमा ल्याउनुपर्ने बताउँदै जसपाको भविष्य युवा पुस्तामाथि भर पर्न जाने बताउनुभयो । उहाँले भन्नु भयो “जसपाका आदर्श र लक्ष्यलाई युवाले आत्मसात् गरे भने यस देशमा सकारात्मक परिवर्तन निश्चित हुन्छ ।”

यस्तै गरी गौतम यादवले जसपाको नीति र विचारले देशमा समानता, समृद्धि र सद्भाव कायम गर्न मद्दत गर्ने बताउँदै स्थानीय स्तरमा पार्टीको उपस्थितिलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।

यस्तै गरी जिल्ला अध्यक्ष सियाराम यादवले जसपा रुपन्देहीले हरेक गाउँ, बस्ती र वडासम्म पार्टीको सन्देश पुगोस् भन्ने उद्देश्यका साथ संगठन विस्तारको अभियान थालेको जानकारी दिनुभयो । उहाँले “हामी सबै मिलेर जनता बीचमा पुग्नुपर्ने बताउदै जसपा विचारको मात्र होइन, व्यवहार र सेवाको पनि पार्टी भएको उल्लेख गर्नु भयो । उहाले आजको हाम्रो प्रमुख जिम्मेवारी भनेको संगठन सुदृढ पार्नु, आन्तरिक एकता कायम गर्नु र जनताको समस्या समाधानका लागि आवाज उठाउनु भएको जोड दिदै दीपावली र छठ पर्वले उज्यालो र पवित्रताको सन्देश दिने भएकोले हामीले पनि देशमा समावेशी, समान र उज्यालो राजनीति ल्याउने प्रण गर्नुपर्ने बताउनु भएको छ । उहाँले आगामी निर्वाचनलाई लक्ष्य गर्दै पार्टीको संगठनात्मक तयारीमा सबै तहका नेताकार्यकर्ताहरूलाई सक्रिय हुन आह्वान गर्नुभयो ।

कार्यक्रममा जसपा रुपन्देहीका उपाध्यक्ष कलामुद्दिन खाँले स्वागत मन्तव्य राख्दै सबैलाई पर्वको शुभकामना व्यक्त गर्नुभयो भने कार्यक्रमको सञ्चालन सचिव विष्णु अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका विभिन्न तहका पदाधिकारी, कार्यकर्ता, स्थानीय नेतागण र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२५-१०-१२ , समय : १२:५५:१५ , १ दिन अगाडि