रुपन्देही खबर , १३० पटक हेरिएको

भैरहवा, असोज २६
भैरव युवा क्लब, नयाँ गाउँ रानी गाउँ पक्लिहवाद्धारा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष याम बहादुर थापाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति एवं रक्तसञ्चार सेवा समिति रुपन्देहीका संयोजक युवा समाजसेवी सुशील गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि गुरुङले क्लबले स्थापना भएको छोटो समयमा नै खेलकुद, सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिसँगै रक्तदान जस्तो पवित्र कार्य आयोजना गरेर समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले रगतको अभावका कारण कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो ।
त्यस्तै, क्लबका अध्यक्ष याम बहादुर थापाले युवाहरूको सशक्त सहभागिता र सहयोगका कारण रक्तदान कार्यक्रम सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रगत दान गर्नु मानवताको महान् कार्य हो । भैरव युवा क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै आगामी दिनमा पनि यस्ता जनहितका कार्य निरन्तर गर्दै जानेछ ।”
नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति राकेश गुरुङले रक्तदान कार्यक्रममा युवाको सक्रियता प्रेरणादायी रहेको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “रगत दान गर्ने प्रत्येक व्यक्ति जीवनदाताका रूपमा समाजमा उदाहरण हुन् । रक्तदान कार्यक्रमले समुदायमा मानवता र सहयोगको भावना विस्तार गर्न सहयोग पुर्याउँछ,” भन्दै क्लबका सबै सदस्यलाई निरन्तर यस्ता सामाजिक कार्यमा अग्रसर रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा आमा समाजकी अध्यक्ष तथा जनप्रतिनिधि हरिमाया गुरुङ, सिद्धार्थनगर नगरपालिका–१३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ, बहिरा बाल विद्यालयका प्राचार्य भिम बहादुर थापा, गाउँ समाजका सचिव नन्द बहादुर राना, समाजसेवी तेजेन्द्र गुरुङ, मोहनसिंह शाही, जितेन्द्र गुरुङ, श्याम गुरुङ, श्रद्धा गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा कुल ३६ प्वाइन्ट रगत संकलन गरिएको क्लबका सचिव सुक बहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रममा रन्जना गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव थापाले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२५-१०-१२ , समय : २२:३४:४३ , २३ घन्टा अगाडि