समुन्नत नेपालको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा लुम्बिनीमा प्रशिक्षक प्रशिक्षण कार्यशाला सम्पन्न

रुपन्देही खबर , १७९  पटक हेरिएको

लुम्बिनी, असोज २८

अनौपचारिक तथा वैकल्पिक शैक्षिक कार्यक्रम अन्तर्गत संश्लेषित पाठ्यक्रम तह १ र २ को सिकाइ कार्डमा आधारित प्रशिक्षक प्रशिक्षण कार्यशाला लुम्बिनीमा सम्पन्न भएको छ । समुन्नत नेपालको आयोजना, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वय तथा युनिसेफ नेपालको सहयोगमा ५ दिनसम्म चलेको उक्त कार्यशाला असोज २० गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको हो । कार्यशालामा देशका विभिन्न जिल्लाबाट आएका प्रशिक्षकहरूलाई सिकाइ कार्डको अवधारणा, प्रयोग विधि, मूल्यांकन प्रणाली, सिकाइ उपलब्धि मापनका मापदण्ड, र अनौपचारिक शिक्षा क्षेत्रमा यसका प्रभावकारिता सम्बन्धी व्यावहारिक सत्रहरू सञ्चालन गरिएको थियो ।

कार्यशालाको सहजीकरण समुन्नत नेपाल काठमाडौंका टिम लिडर नवराज जोशी, समुन्नत नेपालका डाइरेक्टर पवन कुमार अधिकारी र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका डाइरेक्टर निलकण्ठ ढकालले गर्नुभएको थियो ।

सहजीकरण गर्दै टिम लिडर नवराज जोशीले सिकाइ कार्डमा आधारित यो तालिम अनौपचारिक शिक्षाको क्षेत्रलाई नयाँ दिशा दिने बताउनुभयो । उहाँले “सिकाइ कार्ड केवल मूल्यांकनको साधन मात्र नभइ यो विद्यार्थीको सिकाइ प्रक्रियालाई ट्र्याक गर्ने प्रभावकारी उपकरण भएको बताउनु भएको छ । यसले शिक्षक र विद्यार्थीबीचको अन्तरक्रिया सुदृढ गर्ने बताउदै सिकाइलाई व्यवहारिक बनाउने बताउनु भएको छ उहाले यस्ता तालिमहरूले प्रशिक्षकहरूलाई आधुनिक शिक्षणका प्रविधि र दृष्टिकोणसँग जोड्ने अवसर प्रदान गर्ने बताउनु भएको छ ।

त्यस्तै समुन्नत नेपालका डाइरेक्टर पवन कुमार अधिकारीले तालिमको माध्यमबाट सहभागी प्रशिक्षकहरूले वैकल्पिक शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक ज्ञान र सीप प्राप्त गरेको बताउनुभयो । उहाँले “नेपालको अनौपचारिक शिक्षा प्रणालीमा अझै सुधारको ठूलो सम्भावना भएकोले सिकाइ कार्डको प्रयोगले बिद्यार्थीको प्रगति मापन गर्न सजिलो हुने र स्थानीय समुदायमा शिक्षा परिणाममुखी बन्ने विश्वास ब्यक्त भएको छ । समुन्नत नेपालले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि तालिमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता गर्नु भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका डाइरेक्टर निलकण्ठ ढकालले शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सिकाइ कार्डले विद्यार्थीको उपलब्धि मात्र होइन, शिक्षकको प्रतिबद्धता र दक्षता पनि देखाउँने बताउनु भएको छ । यसले शिक्षा प्रणालीलाई पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउन मद्दत गर्ने बताउनु भयो ।

त्यस्तै गरी युनिसेफ नेपालकी पुर्णिमा गुरुङले तालिमबाट नयाँ शिक्षण विधि, दृष्टिकोण र व्यवहारिक सीप सिक्न पाएको बताउँदै हामीले सिकाइ कार्डको माध्यमबाट विद्यार्थीको सिकाइको निरन्तर मूल्यांकन गर्ने विधि सिकेकोले सहभागीहरुलाई ब्यवहारमा उतार्न आग्रह गर्नु भएको छ । उहाले यसले शिक्षकलाई योजना बनाउन र विद्यार्थीलाई प्रोत्साहन दिन मद्दत गर्ने भएकोले यस्तो तालिमले शिक्षा क्षेत्रलाई अझ सुदृढ र परिणाममुखी बनाउँने बिश्वास ब्यक्त गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रम संयोजक बिमला थापाले तालिमले अनौपचारिक शिक्षाका प्रशिक्षकहरूको सीप र दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै, “शिक्षा सबैको पहुँचमा पु¥याउन अनौपचारिक शिक्षाको भूमिका अपरिहार्य भएको बताउदै यस्तो तालिमले प्रशिक्षकहरूलाई व्यवहारमै परिवर्तन ल्याउने प्रेरणा दिने बताउनु भएको छ । सहभागीहरूको तर्फबाट राम भरोसी महतोले सिकाइ कार्डमा आधारित तालिमले शिक्षणलाई अझ परिणाममुखी, सहज र विद्यार्थीमैत्री बनाउने बताउँदै यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले थप्नुभयो, “हामी जस्ता प्रशिक्षकका लागि यस्ता अवसरहरूले आत्मविश्वास बढाउँछ । सिकाइ कार्डको माध्यमबाट विद्यार्थीको प्रगति नियमित रूपमा मूल्यांकन गर्न सजिलो भएको छ।“

यस्तै गरी कालिका स्वावलम्बन सामाजिक केन्द्रका प्रतिनिधि राम दयाल यादवले वैकल्पिक शिक्षाको गुणस्तर उकास्न यस किसिमका तालिमहरू अपरिहार्य रहेको बताउँदै “समाजका सीमान्तकृत र पछाडि परेका बालबालिकाहरूको शिक्षामा सुधार ल्याउन अनौपचारिक शिक्षा प्रभावकारी माध्यम भएको बताउनु भएको छ । उहाले प्रशिक्षकहरूको दक्षता वृद्धि नै यसको मेरुदण्ड भएको जोड दिनु भयो । कार्यशालाको अन्तिम दिन प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन सत्रमा प्रशिक्षकहरूले सिकेका सीप र ज्ञानलाई आफ्ना कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिनु पर्नेमा जोड दिएका थिए । कार्यशालामा २१ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-१०-१४ , समय : २०:५१:३४ , ५ घन्टा अगाडि