रुपन्देही खबर , ९६ पटक हेरिएको
 
काठमाण्डौ,कार्तिक १४
भोलिदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेकोमा भोलिदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको हो ।
महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिन अनुसार आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । रातिदेखि कोशी र मधेशका केही ठाउँमा ठूलो पानी परेको छ । सबैभन्दा धेरै मोरङ, सप्तरी र झापामा पानी परेको महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । राति कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि कोशी प्रदेशका थोरै ठाउँमा र मधेश, बागमती तथा गण्डकीका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना छैन । यस्तै बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
भोलि राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा छिटपुट वर्षा र हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । पर्सि कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रकाशित मिति: २०२५-१०-३१ , समय : १४:१९:३६ , ७ घन्टा अगाडि
