रुपन्देहीमा ३९ लाखभन्दा बढीको अबैध सामान बरामद

रुपन्देही खबर , ११६  पटक हेरिएको

भैरहवा,कार्तिक १७

जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउँमा चेकजाँच गर्ने क्रममा ३९ लाख ७० हजार रुपैयाँ बराबरका अबैध सामानहरू बरामद गरेका छन्।

प्रहरीका अनुसार कार्तिक १२ देखि १५ गतेसम्मको अभियानमा भन्सार छली चोरी–पैठारी गरिएका कपडा, चुरोट, मिठाई, औषधि, सौन्दर्य सामग्री र दैनिक उपभोगका सामग्री बरामद गरिएको हो। बरामद गरिएका सबै सामान र सवारीसाधनहरू आवश्यक कारबाहीका लागि आइतबार भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले ओमसतिया–४ र रोहिणी–१ र २ क्षेत्रबाट बलेरो पिकअप, ई–रिक्सा, मोटरसाइकलसहित ट्रफि,मायाको चिनो ५४० पिस, Manchester United Kingdom चुरोट ४८८० प्याकेट, Midland चुरोट ९८० प्याकेट, सूट रुमाल ६५५० पिस, मिठाई, किराना सामानहरू बरामद गरेको छ। यसको मूल्य करिब रु. २५ लाख ८३ हजार बराबर रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय बेलहिया ले सिद्धार्थनगर–१ बेलहिया बाईपास बाट दैनिक उपभोग्य सामान, महिला कपडा, कष्टमेटिक, आयुर्वेदिक औषधि सिफाफोर्ट र ट्रिपल स्टेमसेल गरी रु. ४ लाख ४६ हजार बराबरका सामान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय मझगवा बाट खटिएको टोलीले मायादेवी–६ दुर्गोलिया बाट मोटरसाइकलसहित कपडा र सुटिङ आइटमहरू रु. ३ लाख ४६ हजार ९१० बराबर बरामद गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय धकधई ले रोहिणी–३ रामनगर बाट टाइ ४३५० पिस बरामद गरेको छ, जसको मूल्य रु. २ लाख ६१ हजार बराबर छ।

यस्तै, वडा प्रहरी कार्यालय भैरहवा ले सिद्धार्थनगर–६ र ८ बाट दुईवटा मोटरसाइकलसहित सुट, सारी र किराना सामान रु. ३ लाख ३३ हजार १७० बराबर बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्की का अनुसार अवैध रुपमा भन्सार छली गरी सामान ल्याउनेहरूमाथि कानूनी प्रक्रिया अघि बढाइएको छ।
“प्रहरीले सीमाक्षेत्रमा यस्तो कार्य रोक्न निरन्तर चेकजाँच र निगरानी बढाएको छ,” डिएसपी कार्कीले भन्नू भयो । बरामद गरिएका सम्पूर्ण सामान र सवारीसाधनहरू भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-११-०३ , समय : १०:०४:२३ , ७ घन्टा अगाडि