रुपन्देही खबर , ९० पटक हेरिएको
बुटवल, कार्तिक २३
रगतको अभाव बढ्दै गएको समयमा रोटरी क्लब अफ बुटवल चौतारीले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । “जीवन बचाऔं, रक्तदान गरौं” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा १०१ युनिट रगत संकलन गरिएको छ । रोटर्याक्ट क्लब अफ बुटवल चौतारी र रोटर्याक्ट क्लब अफ भैरहवा चौतारीसँगको सहकार्यमा सम्पन्न कार्यक्रमले समुदायमा रक्तदानप्रति सकारात्मक सन्देश फैलाएको आयोजकहरूले बताएका छन् । रक्तदान कार्यक्रममा क्लबका अध्यक्ष राजु अधिकारी, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेल, चार्टड प्रेसिडेन्ट डा. विष्णु घिमिरेलगायत क्लबका पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रमका संयोजक वासुदेव भुसालका अनुसार, हालका दिनहरूमा बुटवल क्षेत्रका अस्पतालहरूमा रगतको चरम अभाव देखिएको हुँदा क्लबले सामूहिक पहलमार्फत बृहत रक्तदानको आयोजना गरेको हो । क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले भने, “रगतको अभावका कारण कोही पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो । समाजको आवश्यकता अनुसार रोटरी क्लब सधैं सेवामुखी कार्यमा अग्रसर रहन्छ ।”
कार्यक्रममा सहभागी निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलले पनि रगतदानलाई क्लबको नियमित सामाजिक जिम्मेवारीको रूपमा निरन्तरता दिइने बताउनु भएको छ । उहाले भन्नु भयो “गत वर्ष हामीले १६८ युनिट रगत संकलन गरेर सम्मान प्राप्त गरेका थियौं । यस वर्ष पनि उत्साहजनक सहभागिताले हाम्रो प्रयास सफल भएको छ ।”
रक्तसञ्चार केन्द्र बुटवलले कार्यक्रममा प्राविधिक सहयोग प्रदान गरेको थियो । क्लबका पदाधिकारीहरूले केन्द्रप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । रोटरी क्लब अफ बुटवल चौधरीले विगतदेखि नै स्वास्थ्य, शिक्षा र सामाजिक सेवासँग सम्बन्धित विभिन्न जनकल्याणकारी कार्यक्रम गर्दै आएको छ । यसपटकको रक्तदान अभियानले स्थानीय युवाहरूमा सेवा भावना र सामाजिक उत्तरदायित्वप्रतिको चेतना झनै बढाएको सहभागीहरूले बताएका छन् । रक्तदान कार्यक्रमका संयोजक वासुदेव भुसाल सञ्चालक रहेको हाइलाइफ एग्रो एण्ड फुड इण्डष्ट्रिज लिमिटेडले कार्यक्रममा ठूलो सहयोग पुर्याएको भन्दै क्लवले धन्यवाद दिएको छ ।
प्रकाशित मिति: २०२५-११-०९ , समय : १८:१७:०९ , ४ घन्टा अगाडि