पोलियो उन्मूलनका लागि भैरहवामा रोटरीको जनचेतनामूलक र्‍याली

खोप अभियानलाई निरन्तरता दिन जोड

रुपन्देही खबर , ४५  पटक हेरिएको

भैरहवा, कार्तिक ७

नेपाल पोलियोमुक्त भए पनि विश्वका केही देशमा पोलियो भाइरसको जोखिम कायमै रहेकाले खोप अभियान र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। विश्व पोलियो दिवसको अवसरमा शनिबार भैरहवामा आयोजित जनचेतनामूलक र्‍यालीमा सहभागीहरूले पोलियो उन्मूलनका लागि सरकारी निकाय, सामाजिक संघसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।

रोटरीको विश्वव्यापी अभियान ‘इन्ड पोलियो नाउ’ (End Polio Now) अन्तर्गत रोटरी क्लबहरू तथा विभिन्न संघसंस्थाको सहभागितामा र्‍याली निकालिएको हो। अक्टोबर २४ अर्थात् विश्व पोलियो दिवसका अवसरमा भैरहवास्थित लुम्बिनी गेटबाट सुरु भएको र्‍याली बजारका विभिन्न क्षेत्र परिक्रमा गरी सम्पन्न भएको थियो। र्‍यालीमा रोटरी क्लब लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब सेन्ट्रल लुम्बिनी, रोटरी क्लब भैरहवालगायतका संस्थाका प्रतिनिधि तथा रोटरियनहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापाले पोलियो रोगले विशेषगरी बालबालिकाको स्नायु प्रणालीमा असर पार्न सक्ने भएकाले यसको रोकथाममा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले पोलियो संक्रमणबाट पक्षघात हुन सक्ने र त्यसबाट हुने क्षतिलाई पूर्ण रूपमा निको पार्ने निश्चित उपचार नभएकाले खोपमार्फत रोगको रोकथाम गर्नु नै प्रभावकारी उपाय भएको उल्लेख गर्नुभयो।

उहाँले अचानक हातखुट्टा चलाउन नसक्ने वा पक्षघातको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्ने बताउनुभयो। यस्ता लक्षण देखिनुका कारण पोलियो मात्रै नहुने भए पनि सम्भावित रोग पहिचान गर्न समयमै स्वास्थ्य परीक्षण आवश्यक रहेको उहाँको भनाइ थियो। बालबालिकालाई निर्धारित तालिकाअनुसार खोप लगाउने र पोलियोसम्बन्धी सही जानकारी समुदायसम्म पुर्‍याउने कार्यलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्यालले नेपाल पोलियोमुक्त भए पनि विश्वका विभिन्न देशमा पोलियो भाइरसको जोखिम रहेकाले सचेतना र खोप अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले नेपाललाई पोलियोमुक्त बनाउन खोप अभियानले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भविष्यमा बालबालिकालाई सुरक्षित राख्न नियमित खोप र समुदायस्तरको जनचेतना आवश्यक रहेको बताउनुभयो।

“पोलियोमुक्त हुनु मात्रै पर्याप्त छैन, बालबालिकालाई भविष्यमा पनि सुरक्षित राख्न खोप अभियानलाई निरन्तरता दिनुपर्छ,” पौड्यालले भन्नुभयो।उहाँले पोलियोका कारण बालबालिकामा अपाङ्गता हुन नदिन खोपको पहुँच विस्तार गर्नुपर्ने र जनचेतनामूलक अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। पोलियो उन्मूलनका लागि रोटरी इन्टरनेसनलले सन् १९८८ देखि विश्वव्यापी रूपमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै उहाँले आर्थिक सहयोगसँगै जनचेतना विस्तार पनि अभियानको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो।

पौड्यालले पोलियो उन्मूलनका लागि नेपाल सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक संघसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले अभियानमा योगदान पुर्‍याउँदै आएका रोटरीका सदस्यहरूलाई धन्यवाद दिँदै पोलियोविरुद्धको प्रयासलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारी, रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को पोलियो कमिटीका को–चेयर जितेन्द्र शर्मा, रोटरी डिष्ट्रिक्ट ३२९२ वर्ष २०२६–०२७ का डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ प्रकाश शर्मा गैरे, रोटरी क्लब अफ भैरहवाका अध्यक्ष अजयकुमार गुप्ता तथा रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरकी अध्यक्ष विष्णुमाया थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

वक्ताहरूले पोलियो उन्मूलन अभियानमा रोटरीले पुर्‍याएको योगदानको चर्चा गर्दै खोपको महत्त्वबारे नागरिकलाई सचेत बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताएका थिए। उनीहरूले पोलियोविरुद्धको अभियानलाई सफल बनाउन स्थानीय समुदायको सहभागिता र स्वास्थ्यसम्बन्धी जानकारीको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

रोटरीको ‘इन्ड पोलियो नाउ’ अभियानले पोलियोविरुद्धको खोप प्रवर्द्धन, जनचेतना विस्तार र विश्वव्यापी सहकार्यमा जोड दिँदै आएको छ। विश्व पोलियो दिवसका अवसरमा भैरहवामा आयोजित र्‍यालीले बालबालिकालाई पोलियोबाट सुरक्षित राख्न, खोपको महत्त्व बुझाउन र पोलियो उन्मूलनको लक्ष्य हासिल गर्न सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको छ।

प्रकाशित मिति: २०२६-१०-२४ , समय : २२:०१:५९ , १ घन्टा अगाडि