भैरहवामा १४ लाख ८५ हजारको भन्सार छलीका कपडा बरामद

रुपन्देही खबर , ४५  पटक हेरिएको

भैरहवा, कार्तिक ७

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बाट भन्सार छली गरी ल्याइएको आशंका गरिएका करिब १४ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरका कपडा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो सिद्धार्थनगर नगरपालिका–८ स्थित एक स्थानबाट बेवारिसे अवस्थामा रहेका कपडा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामानको अनुमानित मूल्य १४ लाख ८५ हजार ७४० रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका सामानमा २६५ पिस ट्राउजर, बालबालिकाका ८० पिस ज्याकेट, ८५० पिस बालबालिकाका स्विटर, ६० पिस ज्याकेट र ४५० जोर मोजा रहेका छन्।

प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियाअघि थप अनुसन्धान गरिरहेको जनाएको छ। सामान कसले र कहाँबाट ल्याएको हो भन्ने विषयमा भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

सीमावर्ती क्षेत्र रुपन्देहीमा अवैध रूपमा भित्र्याइएका सामान नियन्त्रण गर्ने क्रममा प्रहरीले उक्त कपडा बरामद गरेको हो। बरामद सामानको स्रोत, ओसारपसारमा संलग्न व्यक्ति तथा भन्सार छलीसम्बन्धी विषयमा अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-२४ , समय : २०:०७:४० , ५८ मिनेटutes अगाडि