तिलोत्तमा-६ द्वारा ज्येष्ठ नागरिक सम्मान तथा नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न

रुपन्देही खबर , ६६  पटक हेरिएको

मणिग्राम,मंसिर ५

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ को आयोजनामा आज ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा समाग्री र नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको छ। वडाले अघिलो बर्षहरुमा जस्तै यस बर्ष पनि ७३ बर्षदेखि ७६ बर्षसम्मका १ सय ३६ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो।ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था थाहा पाउन उनीहरुको नि:शुल्क स्वास्थ्य चेक जांच गरि औषधी वितरण गर्दै औपचारिक कार्यक्रमका बीच न्यानो माया स्वरुप १ सेट ब्लाङ्केट,यातायात खर्च नगद र सम्मान पत्र सहित सम्मान गरेको हो।

तिलोत्तमा नगरपालिका वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकको अध्यक्षता तथा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा वडा नम्बर-६ भित्रका ज्येष्ठ नागरिकहरु र टोल बिकास समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले आमाबुवाको सम्मान गर्ने र उनीहरुको आशिर्बाद शिरोपर गर्दै अभिभावकले देखाएको बाटोमा अगाडी बढ्नुपर्ने बताउनुभयो। पछिल्लो समय घरघरमा संस्कारमा कमि हुँदै गएको अवस्थाले देशमा विषम परिश्थिति सृजना भएको भन्दै बरु सडक एकैछिन नबनाएपनि हुने तर संस्कार समाजमा बसाउन ठुलाको आशिर्बाद र सानालाई माया गर्ने बानीको सकारात्मक बिकास हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भौतिक बिकास भन्दा मानविय बिकास अहिलेको टड्कारो आवश्यकता रहेकोले ज्येष्ठ नागरिकको अनुभव साट्न र परम्परा जोगाउन यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो।

सो अवसरमा बोल्दै नगरप्रमुख खाणले परिवारको खुसी भनेकै ज्येष्ठ नागरिक भएकाले सम्पत्तिको लागि भन्दा पनि उनीहरुलाई समयमा हेरचाह र मायाको खाँचो रहेको बताउनुभयो। निकट भविष्यमै दिर्घ रोगी र बिरामीहरुका लागि नगरपालिकाले सुलभ फार्मेसी संचालन गर्ने तयारी पुरा गरेकोले अबका दिनमा नागरिकको घरघरमा स्वास्थ्य सम्बन्धि बिशेष कार्यक्रम ल्याउने समेत बताउनुभयो। हरेक छोराछोरीले आफ्ना बुवाआमालाई उनीहरुले देखाएको बाटोमा लाग्नुपर्ने बताउंदै नगरप्रमुख खाणले कोही ज्येष्ठ नागरिकले दु:ख पाएकॊ र छोराछोरीले नहेरेको भए सिधै नगरपालिका या जनप्रतिनिधिलाई आएर खबर गर्न अनुरोध समेत गर्नुभयो। नगर प्रमुख खाणले अबको दिनमा तिलोत्तमाका नागरिक ८४ पुजा गर्न सक्ने र शतक आयु हुने तबरले बाबुआमालाई छोराछोरीले माया गर्नुपर्ने बताउनुभयो।

ज्येष्ठ नागरिकहरुको निशुल्क उपचार र औषधीसमेत बितरण गरिएको सो सम्मान कार्यक्रममा वडा नम्बर ६ को सर्हानिय कामको ज्येष्ठ नागरिकका परिवारहरुले तारिफ गरेका थिए। कार्यक्रममा ज्येष्ठ नागरिक, तिनका घरपरिवारका सदस्य, वडा सदस्यहरु पुर्ण प्रसाद (संजय)आचार्य, गोबिन्द प्रसाद रिजाल, सिता गौतम, गीता गन्धर्व, स्वास्थ्य चौकीका राम प्रसाद चुंदालीको टिम, टोलबिकासका अध्यक्षहरु सरोकारवाला लगायत वडाका कर्मचारी ,स्थानीय बौद्धिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: २०२५-११-२१ , समय : २०:२१:२२ , ५ घन्टा अगाडि