स्वास्थ्य प्रणालीको उत्थानशीलता र पत्रकारिता सहनिर्माणसम्बन्धी कार्यशाला बुटवलमा

रुपन्देही खबर , ५८  पटक हेरिएको

बुटवल, मंसिर ११

स्वास्थ्य प्रणालीको उत्थानशीलता र पत्रकारिता सहनिर्माणसम्बन्धी कार्यशाला आजदेखि बुटवलमा सुरु भएको छ । हर्ड इन्टरनेशनलको आयोजनामा सुरु भएको उक्त कार्यशालाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेमराज पाण्डेले पछिल्लो समय नसर्ने रोगको अवस्था भयावह बन्दै गएको बताउनु भएको छ ।

दीर्घरोगको प्रभावले नागरिकलाई जटिल स्वास्थ्य समस्या भोग्नु परेको उहाको भनाइ छ। “बुटवलमै दैनिक करिब १५ जना उपचारका लागि सिफारिस लिन आउनुहुन्छ प्रदेशको अवस्था झन कस्तो होला ? उहाले अगाडि भन्नु भयो । “२२ वर्षकै युवामा क्यान्सर देखिएको छ। रोगले आर्थिक संकट थप्ने काम गरेको छ ।” उहाले उपचारभन्दा पनि रोकथाम र सचेतनामा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउँदै, राज्यले बीमा र जेष्ठ नागरिकका लागि सुविधा दिएको भएपनि त्यो पर्याप्त नभएको बताउनु भएको छ ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेमराज पाण्डे

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले जनशक्ति अभावले प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा बाधा पु¥याइरहेको बताउनु भएको छ । उहाले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय नहुँदा स्थानीय तहमा स्वास्थ्य सेवा सहज रुपमा विस्तार हुन नसकेको टिप्पणी गर्नु भएको छ ।

आयोजक प्रतिनिधि श्रीमन शर्माले पत्रकारितामा स्वास्थ्यसम्बन्धी सामग्री प्रशस्त भए पनि प्रणालीगत तथा नीतिगत मुद्दा सार्वजनिक हुन नसकेको उल्लेख गर्नु भएको छ । “शहरी स्वास्थ्य समस्या तथा एन्टिमाइक्रोबियल्स रेसिस्टेन्स जस्ता चुनौतीलाई पत्रकारिताले जोड्न जरुरी छ,” शर्माले बताउनु भएको छ ।

आयोजक प्रतिनिधि श्रीमन शर्मा

भोलिसम्म चल्ने कार्यशालामा स्वास्थ्य क्षेत्र, स्वास्थ्य प्रणाली र सेवा प्रवाहबीचको अन्तरसम्बन्ध, रिपोर्टिङका विषयमा अनुसन्धानकर्ताद्वय शोफिया रेग्मी, श्रीमन शर्मा, नेपालन्युज डटकमका प्रशान्त अर्याल र स्वास्थ्यखबरका सम्पादक प्रवीण ढकालले सहजीकरण गर्नु भएको छ ।

अनुसन्धानकर्ता शोफिया रेग्मी

प्रकाशित मिति: २०२५-११-२७ , समय : २०:१५:४६ , ३ घन्टा अगाडि