रुपन्देही खबर , ७४ पटक हेरिएको
तिलोत्तमा, मंसिर १८
शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिता–२०८२ अन्तर्गत वडानम्बर–४ को छनौट चरण आज बिहीबार सम्पन्न भएको छ । नगरका १७ वटै वडाका माध्यमिक तहका विद्यार्थीलाई लक्ष्य गरी कार्तिक २९ गते वडानम्बर–१ बाट प्रारम्भ गरिएको प्रशिक्षण तथा छनौट कार्यक्रम आज वडानम्बर–४ मा सम्पन्न भएको जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो ।
वडा नम्बर–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले प्रशिक्षणसहितको प्रतियोगिताको उद्घाटन गर्दै आफ्ना वडाका किशोर–किशोरीका विचार, क्षमता र दृष्टिकोण बुझ्न पाइएकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रम शुभयात्रा नेपाल डिंगरनगर समितिका संयोजक मीना पाण्डे ‘मीना’ को अध्यक्षतामा सञ्चालन गरिएको थियो ।
उद्घाटन सत्रमा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले शुभयात्रा नेपाल पञ्चसूत्रीय योजना—देवभूमिक्षेत्र, गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल स्थापना, फोहरमुक्त नेपाल र पर्यटन प्रवद्र्धन—मा केन्द्रित रहँदै विभिन्न रचनात्मक क्रियाकलापमा सक्रिय रहेको बताउनुभयो।
कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका सहजकर्ता तथा शुभयात्रा नेपाल रूपन्देहीका जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेद्वारा सहभागी विद्यार्थीलाई प्रतियोगिता पूर्व प्रशिक्षण प्रदान गरिएको थियो। प्रस्तुतिपश्चात् मौखिक तथा लिखित रूपमा सुझाव हस्तान्तरण गरिएको निर्णायक मण्डलका संयोजक कुलबहादुर क्षेत्रीले बताउनु भएको छ ।
छनौट चरणमा बुटवल पब्लिक स्कूलकी दिया सुवेदी पहिलो हुँदै नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गर्न सफल भएकी छन्। त्यसैगरी, डन मोडल एकेडेमीकी सञ्जिला अधिकारी दोस्रो र न्यू होराइजन गौतम बुद्ध मा.वि.की सामना क्षेत्री तेस्रो भई पुरस्कृत भएको निर्णायक साधना भण्डारीले जानकारी दिनुभयो।
तिलोत्तमा–४ को दुर्गामन्दिर नजिकै रहेको विष्णुपुर सामुदायिक हलमा पार्वता बेल्बासे र सुजाता भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य मित्रलाल न्यौपाने, वडा सचिव काशीराम ज्ञवाली, स्थानीय टोल विकास संस्थाका अध्यक्षहरू ओमप्रकाश गौतम, रामबहादुर अर्याल, श्रीमाया सुनारी मगर, ताराप्रसाद बेल्बासे, बालमैत्री सहजकर्ता लक्ष्मी ज्ञवाली, बालमैत्री वडा संयोजक प्रिन्सा गौतमलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको अन्तिम चरण फागुन ७ गते सञ्चालन हुने जनाएको छ। शनिबार वडानम्बर–५ को छनौट कार्यक्रम संस्थाको जिल्ला कार्यालय मणिग्राममा गरिने समितिका संयोजक रत्ना रिजालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२५-१२-०४ , समय : १९:००:२६ , ८ घन्टा अगाडि