भैरहवामा “प्रथम भैरव नक–आउट फुटबल प्रतियोगिता” हुदै

रुपन्देही खबर , ३७७  पटक हेरिएको

भैरहवा, मंसिर १८

श्री भैरव युवा क्लब सिनपा १ नयाँ गाउँ र रानीगाउले यहि मंसिर २० गतेदेखि २७ गते सम्म “प्रथम भैरव नक–आउट फुटबल प्रतियोगिता” गर्ने भएको छ । मंसिर २० गतेदेखि २७ गतेसम्म हुने नक–आउट फुटबल प्रतियोगिता” को सम्पूर्ण तयारी पूरा भइसकेको श्री भैरव युवा क्लबका अध्यक्ष याम बहादुर थापा माइलाले जानकारी दिनु भएको छ ।

लामो समयदेखि स्थगित हुँदै आएको राष्ट्रियस्तरको गोल्डकपलाई निकट भविष्यमा पुनः आयोजना गर्ने लक्ष्यसहित तथा बचत रकमबाट पक्लिहवा माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार शुशिल गुरुंङले जानकारी दिनु भएको छ ।

रुपन्देही र नवलपरासीका आठ वटा फुटबल क्लबहरूको सहभागिता रहने प्रतियोगितामा विजेता टिमले नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले रु. ५० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछ । यसका साथै प्रतियोगिताका सर्वोत्तम खेलाडीलाई रु. १० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरलाई जनही रु. ७ हजार तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रु. २५ सय पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस्तै, नेपाल तथा भारतमा उत्कृष्ट प्रदर्शन गरेका पूर्वखेलाडीहरू— चेतन गुरुङ, अशोक गुरुङ, किशन थापा, श्याम गुरुङ, अशोक राना (वाङ) र बुद्धिराम नेपालीलाई फुटबलमा पु¥याएको योगदानका लागि विशेष सम्मान प्रदान गरिने क्लबले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब रु. १५ लाख बजेट अनुमान गरिएको छ । सो मध्ये सिद्धार्थनगर नगरपालिका वडा नं. १ कार्यालयले रु. ५ लाख सहकार्य गर्नेछ भने बाँकी रकम शुभेच्छुक, खेलप्रेमी, उद्योगी–व्यवसायी तथा टिकट बिक्रीबाट जुटाइने क्लबका अध्यक्ष थापाले जानकारी जानकारी दिनु भएको छ ।

युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने र कुलतबाट जोगाउने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकार र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा करिब रु. ५९ लाखको लगानीमा पक्लिहवा फुटबल मैदानलाई आधुनिक बनाउने काम जारी रहेको क्लबका सल्लाहकार गुरुंङले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा भैरव युवा क्लब पक्लिहवा सिद्धार्थनगर, अञ्चलपुर युवा क्लब अञ्चलपुर सिद्धार्थनगर, श्री लिस्नु युवा क्लब कोटिहजा तिलोत्तमा , श्री सम्पूर्ण युवा क्लब सुपौली तिलोत्तमा, श्री फर्साटिकड युवा क्लब फर्साटिकड शुद्धोधन, श्री भैरव युवा क्लब रामग्राम, ठुटीपिपल युवा क्लब ओमसतिया र मोन्सस्टर गाइज सुनवल नवलपरासी लगायतका फुटवल क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । क्लबका अनुसार प्रतियोगितालाई वार्षिक रूपमा निरन्तरता दिँदै क्षेत्रीयस्तरको उत्कृष्ट प्रतियोगिताको रूपमा स्थापित गर्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति: २०२५-१२-०४ , समय : २०:३०:१३ , २ महिना अगाडि