उर्मिला यादव यात्री , १४३ पटक हेरिएको
भैरहवा, मंसिर २१
रुपन्देहीको मायादेवी गाउँपालिका–५ सानो डिह (लुक्टहवा)स्थित दानव नदीबाट रातारात अवैध रूपमा बालुवा उत्खनन भइरहेको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार सोही गाउँका पाँच जना व्यक्तिले सात वटा टाली प्रयोग गरी हरेक राति करिब २ बजेदेखि बिहान ६ बजेसम्म बालुवा उत्खनन गर्दै आएका छन् ।

उत्खनन गरिएको बालुवा मायादेवी तथा छिमेकी कोटहीमाई गाउँपालिकाका विभिन्न स्थानमा डम्पिङ गर्ने गरिएको छ । लामो समयदेखि जारी यस गतिविधिले नदीको प्राकृतिक बहाव बिग्रँदै गएको र बस्ती जोखिममा परेको स्थानीयको गुनासो छ । एक स्थानीयले नाम नखुलाउने सर्तमा अवैध उत्खननमा संलग्न व्यक्तिहरूले प्रहरी चौकी रमवापुरलाई मासिक रकम बुझाउने गरेको आरोप लगाए पनि उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

यस सम्बन्धमा प्रहरी चौकी रमवापुरका प्रहरी सहायक निरीक्षक पवन सुनारले अवैध उत्खनन नियन्त्रणका लागि नियमित अनुगमन भइरहेको बताउनु भएको छ । उहाले चौकीमा ४ जना प्रहरी मात्र भए पनि नियमित गस्तीमा प्रहरी सक्रिय रहेको जोड दिदै अवैध उत्खनन नियन्त्रणका लागी निकै पहल गरिरहेको बताउनु भयो ।
उहाले भन्नु भयो “आर्थिक लेनदेन भएको आरोप निराधार हो । कसैले अवैध उत्खनन गर्न नपाउदा अपवाह फैलाएको हुन सक्छ । उहाले आफु बिदामा गएकोले बेला अबैध उत्खनन गरे पनि यसलाई कडाइका साथ नियमित अनुगमन गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
यता मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले अवैध उत्खनन नियन्त्रण गर्न पालिकाले अनुगमन र कारबाहीलाई तीव्र बनाएको बताउनु भएको छ । उहाले भन्नु भयो “कारबाही गरे पनि तस्करहरू पुनः अवैध उत्खननमा सक्रिय हुनु चुनौती बनेको छ,” । यसमा कसैले साथ नदिदा एक्लै तस्करहरुलाई नियन्त्रण गर्न गाहो भएको गुनासो गर्नु भयो ।
अध्यक्ष चौधरीले नदीजन्य पदार्थ व्यवस्थापन गर्न टेण्डर प्रक्रिया खोले पनि कसैले सहभागी नभएकाले समस्या झन् जटिल बनेको बताउनु भएको छ ।
यता जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले अवैध उत्खनन वातावरण र बस्तीका लागि गम्भीर चुनौती भएको भन्दै सम्बन्धित निकायबीच समन्वय गरेर तत्काल नियन्त्रण आवश्यक रहेको बताउनु भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नदीजन्य पदार्थको संरक्षण र अवैध उत्खनन नियन्त्रण गर्ने जिम्मेवारी स्थानीय सरकारको भए पनि अपेक्षाअनुसार प्रभावकारी नियन्त्रण हुन नसकेको स्थानीयको गुनासो छ ।
प्रकाशित मिति: २०२५-१२-०७ , समय : १४:०८:०५ , ७ घन्टा अगाडि