रुपन्देही खबर , ११५ पटक हेरिएको
लुम्बिनी,मंसिर २४
१५औँ राजकीय थाई बौद्ध बिहार लुम्बिनीको आयोजनामा सञ्चालन गरिएको आँखा शिविरमा मोतियाबिन्दु रोगीहरूको नि:शुल्क शल्यक्रिया भएको छ। थाई बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथका अनुसार लुम्बिनी, कपिलवस्तु र रामग्राम (नवलपरासी) जिल्लाका गरी कुल १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीले शल्यक्रिया उपचार गराई स्वस्थ अवस्थामा घर फर्केका छन्।

प्रमुख भिक्षु सुफोथका अनुसार यो मानवीय सेवा थाइल्यान्डका स्वर्गीय राजा भुमिबोल अदुल्यादेज तथा महारानी सिरिकित आमाको स्मृतिमा, वर्तमान महा राजा वजिरालोङकोर्न वोदिन्द्र्देबयावराङकुनको सहयोगमा नेपाल र भारतका मोतियाबिन्दु रोगीहरूलाई लक्षित गरी लुम्बिनीमा सञ्चालन गरिएको हो।
उहाँका अनुसार सोही मन्दिरको आयोजनामा सञ्चालन गरिएको दन्त शिविरबाट ७५० जनाले नि:शुल्क दन्त उपचार सेवासमेत प्राप्त गरेका छन्। काठमाडौंस्थित तिलगंगा आँखा अस्पताल तथा थाइल्यान्डका आँखा अस्पतालहरूका विशेषज्ञ चिकित्सक टोलीले शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेका थिए। शिविरले दृष्टिविहीनताको जोखिममा रहेका सयौँ गरिब तथा अशक्त नागरिकलाई नयाँ आशा र उज्यालो जीवन प्रदान गरेको स्थानीयवासीहरूको भनाइ छ।
प्रकाशित मिति: २०२५-१२-१० , समय : १०:२४:२० , २ दिन अगाडि