रोहिणीमा कपडा बैंक प्रयोगविहीन, लाखौँको लगानी खेर

उर्मिला यादव यात्री , १७२  पटक हेरिएको

धकधई, मंसिर २४

रुपन्देहीको रोहिणी गाउँपालिकामा मानवीय सेवाको उद्देश्यसहित सुरु गरिएको कपडा बैंक हाल आएर प्रयोगविहीन अवस्थामा सीमित बनेको छ । उद्घाटनका बेला व्यापक चर्चा र अपेक्षा गरिए पनि सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि कपडा बैंकबाट उल्लेखनीय सेवा प्रवाह हुन सकेको छैन । क्लोथ एण्ड फुड बैंक नेपाल र रोहिणी गाउँपालिकाको सहकार्यमा २०८१ साल वैशाख १५ गते रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवद्वारा औपचारिक रूपमा उद्घाटन गरिएको उक्त कपडा बैंक जनसेवाको महत्वाकांक्षी योजनाका रूपमा प्रस्तुत गरिएको थियो । तर स्थापना गरिएको उक्त कपडा बैंकमा संकलन भएका कपडा प्रयोगमा नआइ गोदाममै थन्किएका छन् । स्थानीय बासिन्दाका अनुसार आगलागी पीडित, विपन्न र आपतकालीन अवस्थाका परिवारलाई वितरण गर्ने भनिए पनि व्यवस्थित वितरण प्रणाली नबन्दा कपडा बैंक प्रभावहीन बनेको हो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाले आगलागी तथा विपद् पीडितलाई तत्काल सहयोग पुग्ने दाबी गरे पनि व्यवहारमा भने त्यस्तो सहयोग देखिएको छैन । सामाजिक अभियन्ताहरू भन्छन्, “नियत राम्रो भए पनि कार्यान्वयन कमजोर हुँदा लाखौँ बराबरको सामग्री र लगानी खेर गएको छ ।”

स्थानीय स्रोतका अनुसार कपडा बैंक सञ्चालनका लागि संरचना व्यवस्थापन, कर्मचारी, संकलन बक्स, प्रचारप्रसार लगायतमा खर्च गरिएको भए पनि नियमित गतिविधि नहुँदा बैंक केवल औपचारिकतामै सीमित भएको छ ।

यस विषयमा गाउँपालिकाको आधिकारिक धारणा बुझ्न रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवसँग फोन सम्पर्क गर्न खोज्दा फोन उठेन । त्यसपछि गाउँपालिकाको कार्यालयमै पुगेर प्रतिक्रिया लिन प्रयास गर्दा पनि अध्यक्षसँग भेटघाट हुन सकेन । अन्य सम्बन्धित जिम्मेवार कर्मचारीहरूले भने “व्यवस्थापनमा केही कमजोरी भएको” स्वीकार्दै “आगामी दिनमा सुधार गरिने” मात्र बताएका छन ।

मानवीय सेवाका लागि स्थापना गरिएका यस्ता कार्यक्रम केवल उद्घाटन र भाषणमै सीमित हुने हो कि वास्तवमै जनतासम्म पुग्ने ? भन्ने प्रश्नसँगै रोहिणीको कपडा बैंक पुनः चर्चामा आएको छ ।

प्रकाशित मिति: २०२५-१२-१० , समय : २२:५४:४२ , १ दिन अगाडि