भैरहवामा नेपाली कम्युनिष्ट पार्टीको एकता घोषणा कार्यक्रम सम्पन्न

सम्पूर्ण बामपन्थी शक्तिलाई एउटै धारमा ल्याउने प्रतिबद्धता

उर्मिला यादव , १११  पटक हेरिएको

भैरहवा, मंसिर २७

नेपाली कम्युनिष्ट पार्टी सिद्धार्थनगर नगर समितिको आयोजनामा भैरहवामा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नगर समितिका अध्यक्ष नारायण बहादुर हमालको अध्यक्षता तथा महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य हक्की कुल्लाह खानको प्रमुख आतिथ्यतामा एकता घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी खानले बामपन्थी आन्दोलन इतिहासकै निर्णायक मोडमा पुगेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, “बामपन्थी शक्तिको विभाजनले प्रतिक्रियावादी शक्तिलाई बल पुगेको छ । अब वैचारिक स्पष्टता र संगठनात्मक एकतामार्फत मजदुर, किसान र उत्पीडित वर्गको पक्षमा दृढतापूर्वक उभिनु अपरिहार्य भएको छ ।”

खानले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको आरोप लगाउँदै वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी एकता अपरिहार्य भएको बताउनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष हमालले नेपालमा रहेका सम्पूर्ण बामपन्थी दलहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले एकता शान्ति सन्देशमार्फत पार्टीभित्र संगठनात्मक एकता सुदृढ गर्ने, स्थानीय तहमा समन्वय बढाउने र कार्यकर्ता तथा समर्थकमाझ एकीकृत राजनीतिक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले नेपालमा बामपन्थी शक्तिहरू टुक्रिएर होइन, एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता भएको जोड दिनु भएको छ ।
उहाँले भन्नुभयो, “देशमा बढ्दो भ्रष्टाचार, कमजोर सुशासन र जनताको निराशाबीच अब सम्पूर्ण बामपन्थी दलहरू एउटै धारमा उभिनु अनिवार्य छ । एकता शान्ति सन्देश केवल नारामा सीमित होइन, संगठन सुदृढीकरण र जनताको अधिकारका लागि व्यवहारिक कदम हो ।”

अध्यक्ष हमालले संघीयता, गणतन्त्र र संविधानले सुनिश्चित गरेका उपलब्धिहरूको रक्षा गर्नु आजको प्रमुख दायित्व भएको बताउँदै स्थानीय तहबाटै संगठन विस्तार र जनआधारित राजनीतिको अभ्यास अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै गरी विशिष्ट अतिथि नेता आदित्य नारायण कसौधनले बामपन्थी आन्दोलनको मूल आत्मा जनसेवा, सुशासन र सामाजिक न्याय भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, “गणतन्त्र, संघीयता र संविधानले दिएको अधिकारलाई कमजोर बनाउने प्रयास भइरहेका छन् । यसका विरुद्ध एकीकृत बामपन्थी शक्ति नै सबैभन्दा बलियो ढाल हो ।” कसौधनले कार्यकर्तालाई अनुशासित, जनमुखी र जवाफदेही राजनीति गर्न आह्वान गर्दै पार्टी एकतालाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा युवा नेता मेराज खानको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रममा युवा नेता धना थापा, राम बहादुर बस्नेत, तारापती भण्डारी, फैज अहमद खान, आनन्द प्रसाद गुप्ता, ऋषि राम शर्मा, तीर बहादुर रोका (डर्बिन), राधेश्याम गुप्ता, बाबुलाल यादव लगायतले पार्टी एकता, वर्तमान राजनीतिक अवस्था र बामपन्थी शक्तिको आवश्यकताबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सार्दुल मयुर कसौधनले गर्नुभएको थियो ।

कार्यक्रममा सिद्धार्थनगरका विभिन्न वडाबाट नेता, अग्रज, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा पार्टीले आगामी राजनीतिक गतिविधि, संगठन विस्तार तथा मजदुर–जनताको हकहितसँग सम्बन्धित कार्यक्रम र योजनाबारे स्पष्ट दिशा–निर्देशन दिएको जनाएको छ ।

कार्यक्रमका सहभागीहरूले सम्पूर्ण बामपन्थी शक्तिको एकता, भ्रष्टाचारविरुद्ध संघर्ष र सुशासनको प्रवद्र्धन, संविधान तथा प्राप्त उपलब्धिको रक्षा, वर्तमान सरकारको अवस्था र देशको समसामयिक आवश्यकताबारे साझा धारणा अघि सारेका थिए । साथै संघीयता, गणतन्त्र र कार्यकारी प्रणालीको सुदृढीकरणमा पार्टी प्रतिबद्ध रहेको पनि कार्यक्रममा उल्लेख गरिएको थियो ।

प्रकाशित मिति: २०२५-१२-१३ , समय : २१:४९:५१ , २ घन्टा अगाडि