एभरग्रिन प्यासेफिक दोस्रो पटक च्याम्पियन,सामूहिक खेलकुद महोत्सव–२०८२ सम्पन्न

रुपन्देही खबर , ७१  पटक हेरिएको

भैरहवा, पुस २

एथलेटिक्ससहित विभिन्न खेल प्रतिस्पर्धा समेटिएको सामूहिक विद्यालय परिवार रुपन्देहीद्वारा आयोजित ‘सामूहिक खेलकुद महोत्सव–२०८२’सम्पन्न भएको छ ।
यस वर्षको सामूहिक खेलकुद महोत्सवको उपाधि मायादेवी–७ स्थित एभरग्रिन प्यासेफिक हाइस्कूलले हात पारेको छ । सहभागी विद्यालयहरूमध्ये सर्वाधिक ९ स्वर्ण पदक जित्दै एभरग्रिनले रनिङ शिल्ड समेत प्राप्त गरेको हो । महोत्सवमा ६ स्वर्ण पदकसहित एभरेष्ट मोर्डन इङ्गलिस स्कूल दोस्रो र ४ स्वर्ण पदक प्राप्त गर्दै सञ्जिवनी शिक्षा सदन तृतीय स्थानमा रहन सफल भएका छन्। १८ विद्यालय सदस्य रहेको सामूहिक विद्यालय परिवारअन्तर्गत एथलेटिक्सतर्फका विभिन्न विधामा १६ विद्यालयको सहभागिता रहेको थियो ।

समूहगत प्रदर्शनतर्फ २ स्वर्ण, २ रजत र २ काँस्य पदक जित्दै नमूना इङ्गलिस बोर्डिङ स्कूल सिनियर समूहतर्फको ‘वेष्ट टिम’ घोषित भएको छ। त्यस्तै, ५ स्वर्ण पदकसहित एभरेष्ट मोर्डन इङ्गलिस स्कूल जुनियर समूहतर्फ र ३ स्वर्ण पदकसहित एभरग्रिन प्यासेफिक हाइस्कूल सब–जुनियर समूहतर्फको वेष्ट टिम बनेका छन् ।

भैरहवा तथा आसपास क्षेत्रमा सञ्चालित निजी विद्यालयहरूको छाता संगठन सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा गत मंसिर १९ गतेदेखि महोत्सव सुरु भएको थियो । महोत्सवको पहिलो चरणमा मंसिर १९ देखि २२ गतेसम्म क्रिकेट, दोस्रो चरणमा २३ र २४ गते भलिबल प्रतियोगिता सम्पन्न भएका थिए । अन्तिम चरणमा मंसिर २७ देखि २९ गतेसम्म एथलेटिक्स प्रतियोगिता सञ्चालन भई सोमबार महोत्सवका सबै चरणका खेलहरू सम्पन्न भएका हुन्।

यसअघि लगातार दुई वर्ष सामूहिक खेल महोत्सवमा उत्कृष्ट बन्दै मनकामना इङ्गलिस हाइस्कूलले रनिङ शिल्ड हात पारेको थियो । लगातार तीन वर्ष रनिङ शिल्ड जितेमा सम्बन्धित विद्यालयको निजी हुने व्यवस्था रहेको सामूहिक विद्यालय परिवार रुपन्देहीका पूर्व अध्यक्ष गोकुल पोखरेलले जानकारी दिनु भएको छ ।
समापन समारोहमा विजेता टिम तथा खेलाडीलाई शिल्ड र पुरस्कार प्रदान गर्दै सिद्धार्थनगर नगरप्रमुख इश्तियाक अहमद खाँ ले विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि समान ध्यान दिन आग्रह गर्नु भएको छ ।

“यही सामूहिक खेलकुद महोत्सव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने प्लेटफर्म बन्न सक्छ,” उहाले भन्नु भयो । “खेलकुदले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउँछ । सामूहिक विद्यालय परिवारका अध्यक्ष संसद इद्रिशीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि २०५९ सालदेखि निरन्तर सामूहिक खेल महोत्सव आयोजना हुँदै आएको बताउनु भएको छ । यस्तै, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले सबै विद्यालयले कम्तीमा एकजना खेलकुद शिक्षक राखी नियमित खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रकाशित मिति: २०२५-१२-१७ , समय : २१:३६:२६ , २ घन्टा अगाडि