रुपन्देही प्रहरीको मासिक रिपोर्ट सार्वजनिक,मंसिर महिनामा १७३ मुद्दा दर्ता

लागुऔषध,अवैध हातहतियार,घरेलु हिंसा र आन्दोलनजन्य घटनामा उल्लेख्य कारबाही

रुपन्देही खबर , ७८  पटक हेरिएको

भैरहवा, पुस ३

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंसिर महिनाभर जिल्लामा सम्पन्न भएका सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मंसिर महिनामा जिल्लाभर कुल १७३ वटा मुद्दा दर्ता भएका छन् भने तीमध्ये ९७ वटा मुद्दा फछ्र्यौट गरिएको छ । ज्यानसम्बन्धी, जबर्जस्ती करणी, चोरी, ठगी, बैंकिङ कसुर, सवारी ज्यान, लागुऔषध तथा साइबर अपराधजस्ता घटनाहरू मुख्य रूपमा दर्ता भएका छन् ।

अपराध अनुसन्धान तथा कारबाही

चालु मुद्दामा १६९ जना प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनका क्रममा ३० जना फरार प्रतिवादी पक्राउ गरिएको छ । यस अवधिमा ४३ लाख ६ हजार १९६ रुपैयाँ जरिवाना असुली हुनुका साथै २८ वर्ष २ महिना ८ दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ ।

हराएका व्यक्तिको खोजी

मंसिर महिनामा ९२ जना महिला, पुरुष, बालबालिका तथा जेष्ठ नागरिक हराएको उजुरी परेकोमा ३५ जना फेला पारिएका छन् । अघिल्लो आर्थिक वर्षमा हराएका थप ११ जना यसै महिनामा फेला परेका छन् ।

घरेलु हिंसा

घरेलु हिंसासम्बन्धी ४७ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ४२ वटा मिलापत्र वा अदालतमार्फत टुंगो लगाइएको छ भने बाँकी ५ वटा अनुसन्धानकै क्रममा छन् । घरेलु हिंसाका घटना सबैभन्दा बढी सिद्धार्थनगर नगरपालिकामा देखिएका छन् ।

लागुऔषध नियन्त्रण

लागुऔषधसम्बन्धी १३ वटा मुद्दा दर्ता भई २६ जना पक्राउ परेका छन् । प्रहरीले ७४ ग्रामभन्दा बढी ब्राउन सुगर, ५ केजीभन्दा बढी गाँजा तथा इन्जेक्सन र कोडिन सिरप बरामद गरेको छ ।

आत्महत्या

मंसिर महिनामा २२ वटा आत्महत्याका घटना दर्ता भएका छन् । तीमध्ये १८ वटा झुण्डी आत्महत्या र ४ वटा विषादी सेवन मार्फत भएको प्रहरीको तथ्याङ्क छ ।

मुख्य घटनामा ठूलो सफलता

प्रहरीले गैडहवाबाट २ थान कटुवा पेस्तोल र ७ राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ गरेको छ । यस्तै, ६८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित २ जना युवक पक्राउ परेका छन् । तिलोत्तमामा उपचाररत युवकको कुटपिटबाट मृत्यु भएको घटनामा ८ जना अभियुक्त नियन्त्रण मा लिइएका छन् ।

आन्दोलनजन्य घटनामा पक्राउ

२०८२ साल जेठ २३ र २४ गते भएको जेन–जि आन्दोलन का क्रममा भाटभटेनी, प्रहरी बिट, होटल, रिसोर्ट र निजी घरमा भएको तोडफोड, आगजनी तथा चोरी घटनामा संलग्न दर्जनौँ अभियुक्त पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शान्ति सुरक्षा र सेवा प्रवाह

मंसिर महिनामा ४९३ पिकेट, ३७८ चेकजाँच र ९०० ग्रामीण गस्ती सञ्चालन गरिएको छ ।
सवारी दुर्घटनामा १० जनाको मृत्यु, ३४४ जना घाइते भएका छन् । ट्राफिक कारबाहीबाट ८ लाख ८१ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ ।

राजश्व चुहावट र विपद् व्यवस्थापन

भन्सार छली नियन्त्रणतर्फ ६ करोड ६६ लाखभन्दा बढी राजस्व बराबरको सामान नियन्त्रण गरिएको छ ।
विपद् व्यवस्थापनतर्फ १३ घटना दर्ता भई आगलागी र डुबानमा उद्धार कार्य गरिएको छ ।

समुदाय–केन्द्रित कार्यक्रम

प्रहरीले समुदाय र विद्यालय केन्द्रित १६३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ७ हजार ९ सयभन्दा बढी नागरिक र विद्यार्थी लाभान्वित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आगामी दिनमा पनि शान्ति सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रण र नागरिक सेवा प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: २०२५-१२-१८ , समय : १०:३८:५१ , ५ घन्टा अगाडि