बेलहियामा व्यवस्थित पार्किङका लागि बृहत् छलफल

२५ सदस्यीय समिति गठन

रुपन्देही खबर , १४५  पटक हेरिएको

बेलहिया, पुस २२

सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा व्यवस्थित पार्किङ व्यवस्थापनका विषयमा बेलहिया गाउँ समाजको आयोजनामा बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ । बढ्दो सवारी चाप, जथाभावी पार्किङ र त्यसले निम्त्याएको अव्यवस्थालाई समाधान गर्ने उद्देश्यले छलफल कार्यक्रम आयोजना गरिएको हो ।

छलफलबाट अर्जुन कुमार गिरीको संयोजनमा २५ सदस्यीय पार्किङ व्यवस्थापन समिति गठन गरिएको छ । समितिका सदस्यहरूमा माधव शर्मा, लक्ष्मण सुनार, मोहन सिंह शाही, नरेश अधिकारी, बेलहिया आमा समूह, उमेश पोखरेल, नन्दन श्रेष्ठ, गीता थापा, नेपाल भन्सार एजेन्ट संघ, अन्नपूर्ण टर्मिनल प्रा.लि., पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि., नेपाल ई–रिक्सा संघ, स्वतन्त्र अटो रिक्सा संघ, इरफान वारिस, श्रीचन्द गुप्ता, आकाश गुरुङ, धर्मराज गिरी, पशुपति कान्दु, ट्रक समितिका रुद्र थापा लगायत रहनु भएको छ ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष उज्वल पोखरेल तथा बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्मा लगायतले आफ्नो धारणा राख्दै बेलहियालाई व्यवस्थित, सुरक्षित र सुचारु सवारी आवागमन भएको क्षेत्रका रूपमा विकास गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

छलफल कार्यक्रममा सहभागीहरूले पार्किङ स्थलको पहिचान, सवारी व्यवस्थापन, नियम कार्यान्वयन र स्थानीय सहभागितामार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति: २०२६-०१-०६ , समय : १९:१७:०४ , १ दिन अगाडि