लागूऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ

रुपन्देही खबर , १२६  पटक हेरिएको

भैरहवा, पुस २२

रुपन्देहीमा लागू औषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पुस २१ गते साँझ करिब ७ बजे लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहिया क्षेत्रमा शंकास्पद अवस्थामा मायादेवी गाउँपालिका–३ निवासी २४ वर्षीय दिपेन्द्र चाईलाई नियन्त्रणमा लिएको हो ।

सोधपुछका क्रममा निजले मायादेवी गाउँपालिका–३ स्थित आफ्नै घरको कोठामा लागू औषध ब्राउनसुगर लुकाई छिपाई राखेको खुलाएपछि प्रहरीले घरको कोठा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा ब्राउनसुगर जस्तो देखिने पदार्थ प्लास्टिकसहित २८ ग्राम २९० मिलिग्राम र प्लास्टिक बाहेक २६ ग्राम ३२० मिलिग्राम तथा डिजिटल तराजु एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बरामद लागू औषध र सामग्री रितपूर्वक जफत गरी पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२६-०१-०६ , समय : १९:३७:२० , १ दिन अगाडि