रुपन्देही खबर , ७६ पटक हेरिएको
भैरहवा, पुस २६
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७औँ वार्षिक साधारण सभा आज शनिबार हुदैछ । सिद्धार्थनगर नगरपालिका–१२ कालिकास्थानस्थित संघको आफ्नै भवनमा साधारण सभा आयोजना गरिएको संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिनुभयो । अध्यक्ष आचार्यका अनुसार साधारण सभाको उद्घाटन बिहान १०ः३० बजे हुने छ । साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुहुने कार्यक्रम तय भएको छ ।
संघका महासचिव कृष्णप्रसाद घिमिरेका अनुसार साधारण सभाको बन्दसत्र दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ । बन्दसत्रमा महासचिवबाट संघको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षबाट आर्थिक वर्ष २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिनेछ । साथै संघका आगामी योजना, नीति तथा विविध समसामयिक विषयमा छलफल हुने सचिव मंगल भण्डारीले जानकारी दिनुभयो ।
वि.सं. २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले उद्योगी–व्यवसायीको हकहित र संरक्षणका लागि निरन्तर काम गर्दै आएको संघका वरिष्ठ उपाध्यक्ष दिलिपकुमार कान्दुले बताउनुभयो । उहाँले भन्नुभयो, “संघ उद्योगी–व्यवसायीको हितमा मात्र सीमित छैन, यस क्षेत्रको शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा आम नागरिकका समस्या समाधानका लागि समेत सक्रिय भूमिका खेल्दै आएको छ ।” सिद्धार्थ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष स्वर्गीय मंगलसेन शर्मा रहनुभएको थियो ।
प्रकाशित मिति: २०२६-०१-१० , समय : १०:२६:०२ , १७ घन्टा अगाडि