रुपन्देही खबर , ७९ पटक हेरिएको
भैरहवा,पुस २९
नर्स तथा स्वास्थ्यकर्मीहरुसँग सरकारद्वारा गरिएको सम्झौता अझैसम्म पूर्ण रुपमा कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । उनीहरुले सोमबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेका हुन् । नेपाल स्वास्थ्य व्यवसायी परिषदमा राखिएका वैधानिक, संरचनागत र प्रतिनिधित्वसम्बन्धी मागहरु वेवास्ता गरिएकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले बताउनुभयो । आफूहरुले उठाएका मागहरुलाई अझै पनि वेवास्ता गरिएमा यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने उहाँले बताउनुभयो । आन्दोलन र वार्तासँगै जारी रहने उहाँको भनाइ छ ।
‘नेपालमा स्वास्थ्य सेवालाई सुरक्षित, प्रभावकारी र वैज्ञानिक बनाउने उद्देश्यले स्थापना गरिएको नेपाल स्वास्थ्य व्यवसायी परिषद लामो समयदेखि कानूनी, संरचनागत तथा प्रतिनिधित्वसम्बन्धी गम्भीर समस्यमा फसेको सर्वविदितै छ, ’उपाध्यायले भन्नुभयो–‘परिषद ऐन २०५३ जारी भएको लामो समय बितिसक्दा पनि ऐनको दफाल ४ को २ अनुसार परिषद पूर्ण रुपमा गठन हुन नसक्नु, समयमै पदाधिकारी नियुक्ति नहुनु, विभिन्न पेशागत समूहको समावेशी प्रतिनिधित्व नहुनु तथा परिषदका नियमित कार्यहरु अवरुद्ध हुनु अत्यन्तै गम्भीर विषय बनेको छ ।’
परिषदमा आवश्यक सदस्य नपुगेका कारण दर्ता, नविकरण, सीपीडी, अनुसन्धानत्मक कारवाही तथा नियमनका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । यसले सम्पूर्ण स्वास्थ्य व्यवसायीहरुको पेशागत भविष्य, सेवाको गुणस्तर तथा आम नागरिकको स्वास्थ्य अधिकारमाथि प्रत्यक्ष असर पारेको बताउनुभयो । ‘अझ दुःखद कुरा, परिषदमा दर्तावाल ठूलो समूहका स्वास्थ्यकर्मीहरुको एशोसिएसनको प्रतिनिधित्व सुनिश्चित गर्न बारम्बार माग गर्दा पनि सरकार र सम्बन्धित निकाय गम्भीर नदेखिएको अवस्था छ, ’उहाँले भन्नुभयो ।
नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एशोसिएसन नेपाल डेण्टल हाईजेनिस्ट एशोसिएशनका संयोजक माईकल देवकोटा, सह–संयोजक प्रदिप तामाङ, नेपाल जनस्वास्थ्य संघका कार्यबाहक अध्यक्ष तेज प्रसाद दुलाल, मेडिकल ल्यावोटरी एशोसिएसन अफ नेपालका अध्यक्ष राजेन्द्र खड्का, नेपाल सिएमए संघका उपाध्यक्ष गोपाल उपाध्याय र हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनमा उत्रिएको बताउनुभएको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदका सम्बन्धमा परिषद ऐनको दफा ४ को २ अनुसार पूर्ण परिषद गठन/ऐन अनुसार चुनाव र ऐन अनुसार मनोनयन, स्वास्थ्यका पेशागत एशोसिएसनहरुको परिषद ऐनको दफा ४ (२) अनुसार समावेशी र न्यायोचित प्रतिनिधित्व, दर्ता, नविकरण, सीपीडी लगायत सबै कार्यहरु नियमित र पारदर्शी रुपमा सञ्चालन, परिषद सम्बन्धमा बारम्बार गरिएका मागपत्र र ध्यानाकर्षणको कार्यान्यवन (तलब, सेवा–सुविधा, करार/स्थायी व्यवस्था, कार्य–परिसरको सुरक्षा, पेशागत सम्मान) लगायत माग रहेको विज्ञप्तीमा उल्लेख छ ।
आन्दोलन अन्तर्गत सोमबार आयोजित कार्यक्रममा नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष गोपाल उपाध्याय, केन्द्रीय उपाध्यक्ष काशीराम अर्याल, उपमहासचिव नविन चापागाई, रुपन्देहीका जिल्ला अध्यक्ष शशीकान्त उपाध्याय, नवलपुरका अध्यक्ष छबिलाल मिधुन, उपाध्यक्ष सुर्य महतो, ललितपुरका विजय महर्जनलगायतले स्वास्थ्यकर्मीका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
प्रकाशित मिति: २०२६-०१-१३ , समय : १४:२५:५२ , २ घन्टा अगाडि