उर्मिला यादव यात्री , ८६ पटक हेरिएको
लुम्बिनी, माघ ५
मकर संक्रान्ति खिचडी पर्वको अवसरमा गोपाल सेवा समिति लुम्बिनी नगर समिति, रुपन्देहीले लुम्बिनीको खुनगाईमा विरहा मुकाबला कार्यक्रम २०८२ सम्पन्न गरेको छ । गोपाल सेवा समिति लुम्बिनी नगर समितिका अध्यक्ष बिमलेश यादवको अध्यक्षता तथा गोपाल सेवा समितिका केन्द्रीय सल्लाहकार एवं पूर्व कृषि मन्त्री ओमप्रकाश यादव गुल्जारीको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमका बिच विरहा मुकाबला सम्पन्न भएको हो ।


कार्यक्रमको उद्धघाटन गर्नुहुदै प्रमुख अतिथि यादवले मकर संक्रान्ति खिचडी पर्वले सामाजिक एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने कार्य गर्दै आएको बताउनु भएको छ । उहाले यस्ता मौलिक पर्व तथा सांस्कृतिक कार्यक्रमको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै गोपाल सेवा समितिले समाजलाई जोड्ने सकारात्मक कार्य गरिरहेको बताउनु भएको छ ।

यस्तै गरी विशिष्ट अतिथि पूर्व सामाजिक विकास मन्त्री सिके गुप्ताले सांस्कृतिक पर्वहरू हाम्रो पहिचानसँग जोडिएको भन्दै विरहा जस्ता लोकसंस्कृतिले नयाँ पुस्तालाई आफ्नो मौलिकताप्रति आकर्षित गर्ने बताउनुभएको छ । उहाले समाजमा संस्कृतिको संरक्षणका लागि सबैको साझा भूमिका आवश्यक रहेको जोड दिनु भएको थियो ।

यस्तै गरी गोपाल सेवा समितिका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले गोपाल सेवा समितिले सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशील रहदै आएको बताउनुभएको छ । यस्ता कार्यक्रमले समुदायबीच आपसी सद्भाव बढाउने र संस्कृतिको जगेर्ना गर्ने केन्द्रीय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष यादवको भनाइ छ ।

यस्तै गरी गोपाल सेवा समिति रुपन्देहीका जिल्ला सचिव उमाशंकर यादवले मकर संक्रान्ति खिचडी पर्वको अवसरमा आयोजना गरिएको विरहा मुकाबला कार्यक्रमले स्थानीयस्तरमा संस्कृतिप्रति चेतना अभिवृद्धि गरेको बताउनुभएको छ । उहाले हामीले आफनो धर्म, संस्कृति बिस्तारै भुल्दै गएको बताउदै यसको संरक्षणमा एकजुट भएर लाग्नुपर्ने जोड दिनु भयो । उहाले गोपाल सेवा समितीले यादव संगै अन्य समुदायलाई पनि संगसंगै जोडेर उनीहरुको हकहितमा कार्य गर्दै आएको उल्लेख गर्नु भयो । आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै गरी गोपाल सेवा समिति लुम्बिनी नगर समितिका अध्यक्ष बिमलेश यादवले मकर संक्रान्ति खिचडी पर्व तथा विरहा जस्ता लोकसंस्कृतिले समाजमा आपसी सद्भाव, भाइचारा र एकताको भावना विकास गर्ने बताउनुभयो । उहाँले यस्ता मौलिक पर्व र सांस्कृतिक कार्यक्रमले हाम्रो पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै गोपाल सेवा समिति सामाजिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा निरन्तर रूपमा सक्रिय रहँदै आएको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गोपाल सेवा समिति लुम्बिनी नगर समितिका वरिष्ठ उपाध्यक्ष सन्तराम यादवले मकर संक्रान्ति खिचडी पर्व नेपाली समाजको सांस्कृतिक धरोहर भएको बताउनु भएको छ । उहाँले यस्ता पर्व र लोकसंस्कृतिले समाजमा आपसी भाइचारा, सद्भाव र एकताको भावना विकास गर्ने बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, कलाकार तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्नुभएको थियो । भने कार्यक्रम सञ्चालन गोपाल सेवा समिति लुम्बिनी नगर समितिका सचिव रामअवतार यादवले गर्नुभएको थियो ।


कार्यक्रममा विरहा गायक सुनिता यादव र प्रमोदलाल यादवले प्रस्तुत गर्नुभएको बेजोड विरहा गायनले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । स्थानीयवासीहरूको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रमले मकर संक्रान्ति खिचडी पर्वलाई थप उल्लासपूर्ण बनाएको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: २०२६-०१-१९ , समय : १२:३७:०९ , ३ घन्टा अगाडि