फागुन २१ को प्रतिनिधिसभा चुनावको तयारी तीव्र, देश चुनावमय

रुपन्देही खबर , ७३  पटक हेरिएको

काठमाडौँ,माघ ५

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसँगै मुलुकभर चुनावी माहोल तातेको छ । राजनीतिक दलहरू चुनाव केन्द्रित गतिविधिमा सक्रिय भएसँगै चौतारीदेखि चियापसल र ठूला आमसभासम्म निर्वाचनकै चर्चा बढेको हो ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले उम्मेदवार छनोटको काम प्रायः टुङ्ग्याइसकेका छन् । आन्तरिक विवादमा अल्झिएको नेपाली कांग्रेस पनि उम्मेदवार टुङ्ग्याउने अन्तिम तयारीमा जुटेको छ ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ताको समयसीमा भोलिका लागि तोकेको छ । समानुपातिकतर्फ १ सय १० सिटका लागि दलहरूले आफ्ना उम्मेदवारको बन्दसूची आयोगमा बुझाइसकेका छन् ।

उम्मेदवार बन्न स्थानीय तह र प्रदेशका जनप्रतिनिधिहरूले राजीनामा बुझाउने क्रम जारी छ भने विभिन्न दलहरूले ठूला शहरहरूमा आमसभा आयोजना गरिरहेका छन् । आज रास्वपाले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहसहितको उपस्थितिमा जनकपुरमा आमसभा गरेको छ । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नुभएको छ । दुवै स्थानमा उल्लेख्य जनसहभागिता देखिएको छ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवारी दर्ताका लागि रुकुम पुग्नुभएको छ ।

निर्वाचन आयोगले मतपत्र छपाइ, निर्वाचन कार्यालय स्थापना तथा मुख्य र निर्वाचन अधिकृत तोक्ने काम सम्पन्न गरिसकेको छ । मतदाता सूची, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाई जिल्ला–जिल्लामा सूची पठाइसकिएको आयोगले जनाएको छ ।

सरकार पनि निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन र जनशक्ति परिचालनमा जुटेको छ । निर्वाचनका लागि प्रहरी भर्ना प्रक्रिया समेत अगाडि बढाइएको छ । फागुन २१ गते हुने चुनावमा समानुपातिकतर्फ ५८ दल र प्रत्यक्षतर्फ १ सय १४ दल सहभागी हुँदैछन् ।

निर्वाचनमा झन्डै १ करोड ९० लाखभन्दा बढी मतदाता सहभागी हुन पाउनेछन् । प्रतिनिधिसभा निर्वाचनका लागि देशभर ११ हजार ९ सय १ मतदान केन्द्र तोकिएको छ । भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई निर्वाचन हुन लागेकोले यस चुनावलाई विशेष महत्त्वका साथ हेरिएको छ । साथै नयाँ राजनीतिक शक्तिहरूको उदय हुन सक्ने अनुमानका कारण निर्वाचन थप प्रतिस्पर्धी बनेको छ ।

प्रकाशित मिति: २०२६-०१-१९ , समय : २२:०७:०५ , ३ घन्टा अगाडि