एजेन्सी , ५८ पटक हेरिएको
गेटी इमेजेज
माघ ७
जापानले विश्वकै सबैभन्दा ठूलो आणविक विद्युत् उत्पादन केन्द्र पुनः सञ्चालनमा ल्याएको छ । सन् २०११ मा आएको शक्तिशाली भूकम्प र त्यसपछिको फुकुशिमा आणविक दुर्घटनाका कारण बन्द भएका रिएक्टरहरू मध्ये झन्डै १५ वर्षपछि पहिलोपटक पुनः सञ्चालन गरिएको हो ।
टोकियोको उत्तर–पश्चिममा अवस्थित काशीवाजाकी–कारीवा आणविक प्लान्टको रिएक्टर नम्बर ६ बुधबारदेखि पुनः सञ्चालनमा आएको बीबीसीले जनाएको छ । अधिकारीहरूका अनुसार आगामी महिनादेखि उक्त रिएक्टर व्यावसायिक रूपमा सञ्चालनमा ल्याइने तयारी छ ।
यो कदम जापानको आणविक ऊर्जा पुनः सुरु गर्ने दीर्घकालीन योजनाको एक हिस्सा हो । तर सातौँ रिएक्टर सन् २०३० सम्म पुनः सञ्चालनमा आउने सम्भावना न्यून रहेको र बाँकी पाँच रिएक्टरहरू स्थायी रूपमा बन्द हुन सक्ने बताइएको छ ।
सन् २०११ अघि जापानको कुल विद्युत् उत्पादनको करिब ३० प्रतिशत हिस्सा आणविक ऊर्जाबाट प्राप्त हुने गर्थ्यो । सरकारले सन् २०३० सम्म यो हिस्सा ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले सन् २०५० सम्ममा विश्वभर आणविक ऊर्जा उत्पादन क्षमता दोब्बरभन्दा बढी हुन सक्ने अनुमान गरेको छ ।
जापानकी प्रधानमन्त्री साने ताकाचीले ऊर्जा आत्मनिर्भरताका लागि आणविक ऊर्जाको भूमिका महत्वपूर्ण रहेको बताउँदै आउनुभएको छ । विशेषगरी डाटा सेन्टर र सेमिकन्डक्टर (अर्धचालक) उद्योगको विस्तारसँगै देशमा ऊर्जा माग उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
यद्यपि, आणविक ऊर्जा पुनर्जीवित गर्ने जापानको प्रयाससँगै रिएक्टर सञ्चालन खर्च पनि बढ्दै गएको छ । नयाँ सुरक्षा मापदण्ड र कडाइका कारण प्लान्ट पुनः सञ्चालन गर्न कम्पनीहरूलाई ठूलो लगानी आवश्यक परेको समाचारमा उल्लेख छ ।
प्रकाशित मिति: २०२६-०१-२१ , समय : २१:१९:२५ , २ घन्टा अगाडि