प्रतिनिधिसभा चुनाव: पाँच जना उम्मेदवारविरुद्ध उजुरी

छानबिन प्रक्रिया अघि बढ्यो

रुपन्देही खबर , ९७  पटक हेरिएको

काठमाण्डाै,माघ ७

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गरेकामध्ये पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हिजो १ सय ६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका कुल ३ हजार ४ सय ८६ उम्मेदवारमध्ये पाँच जनाविरुद्ध मात्र उजुरी दर्ता भएको हो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित राजिव खत्री, जानुका पाठक, लालविक्रम थापा र रेशम चौधरीविरुद्ध उजुरी परेको छ । आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी सङ्कलन गरेको थियो । उजुरीमाथि छानबिनको काम शुरू भइसकेको र भोलि बेलुका ५ बजेसम्म निर्णय गरिने आयोगका सहायक प्रवक्ता जिसीले जानकारी दिनुभयो ।

आयोगले भोलि बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । पर्सि शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको भने त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

शुक्रवारकै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेदवारले चुनाव चिह्न पाउने निर्वाचन आयाेगले जनाएकाे छ ।

प्रकाशित मिति: २०२६-०१-२१ , समय : २१:३३:४० , २ घन्टा अगाडि