प्रकाश न्यौपाने , ८० पटक हेरिएको
नवलपरासी,माघ १५
उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा माघ १३ गतेदेखि सञ्चालनमा आएको प्रथम बर्दघाट एक्सपो २०८२ मा नृत्यलाई केन्द्रमा राख्दै डान्स आइडल प्रतियोगिता आयोजना गरिने भएको छ । बर्दघाट नगरपालिका वडा नं. ४ हरियालीनगरमा जारी एक्सपोमा दर्शक आकर्षण बढाउने उद्देश्यले खुल्ला तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको हो ।
सांस्कृतिक तथा गोष्ठी सेमिनार उपसमिति संयोजक मोहन सापकोटाका अनुसार खुल्ला नृत्यतर्फको डान्स आइडल प्रतियोगिताको अडिसन माघ १५ र १६ गते सञ्चालन हुनेछ । त्यसपछि क्रमशः दोस्रो चरण माघ १८ गते, तेस्रो चरण माघ २० गते, चौथो चरण माघ २२ गते हुँदै माघ २४ गते फाइनल प्रतियोगिता आयोजना गरिने छ ।
डान्स आइडल प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १० हजार रुपैयाँ तथा तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिताको अडिसन माघ १८ गते र फाइनल प्रतियोगिता माघ २३ गते हुने जानकारी सापकोटाले दिनुभयो । विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम हुने समूहले नगद २० हजार रुपैयाँ, दोस्रो हुने विद्यालयले १५ हजार रुपैयाँ र तेस्रो हुने विद्यालयले ७ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खुल्ला नृत्य प्रतियोगितामा बढीमा दुई जनाले मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । दुई जनाभन्दा बढी सहभागी भएको प्रस्तुति मान्य नहुने आयोजकले जनाएको छ । प्रतियोगितामा बढीमा तीनवटा गीत रिमिक्स गर्न पाइनेछ भने नृत्यको समय पाँच मिनेटभन्दा लामो हुन नपाउने नियम तोकिएको छ । नृत्यको प्रकृतिअनुसारको भेषभूषा अनिवार्य गरिएको छ ।
त्यस्तै समूहगत नृत्यतर्फ रिमिक्स गीत तथा चलचित्रमा प्रयोग भएका गीतमा नृत्य गर्न नपाइने व्यवस्था गरिएको छ । गीतको अवधि बढीमा आठ मिनेटको हुनुपर्ने तथा नृत्यमा प्रयोग हुने सामग्री सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्ने एक्सपोका उपभोक्ता गुनासो, सुनुवाइ तथा टिकट व्यवस्थापन उपसमिति संयोजक केशव बस्यालले जानकारी दिनुभयो ।
एक्सपोअन्तर्गत बुधबार सम्पन्न सांगीतिक कार्यक्रममा गायक हेमन्त शर्मा, विष्णु सिँजाली तथा गायिका शिला गुरुङले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । भोलिको सांगीतिक कार्यक्रममा गायक रेशमराज भट्टराई, गायिका लक्ष्मी बस्नेत, गायक डोलराज न्यौपाने र गायक दीपक दर्लामीको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक सापकोटाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२६-०१-२९ , समय : ०६:३५:०५ , ३ घन्टा अगाडि