सिद्धार्थनगरमा महिलाहरूका लागि पाठेघर स्क्रिनिङ स्वास्थ्य शिविर सुरु

रुपन्देही खबर , ६६  पटक हेरिएको

भैरहवा, माघ १९

सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर लगायत महिला रोगको समयमै पहिचान गर्ने उद्देश्यले पाठेघर स्क्रिनिङ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महिला रोग विशेषज्ञ सहितको स्वास्थ्यकर्मी टोलीद्वारा सञ्चालन हुने शिविर विभिन्न वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा आज देखि सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

शिविर कार्यक्रमअनुसार माघ १९ गते आज सिद्धार्थनगर नगरपालिका वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा, माघ २० गते वडा नं. ६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र माघ २३ गते वडा नं. ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिनेछ।

नगरपालिकाले पाठेघरको क्यान्सर महिलाहरूमा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये एक भएकाले समयमै परीक्षण र परामर्श लिन आग्रह गरेको छ। शिविरमार्फत महिलाहरूले विशेषज्ञ चिकित्सकबाट परामर्श, प्रारम्भिक परीक्षण तथा आवश्यक सुझाव प्राप्त गर्ने जनाइएको छ।
स्वास्थ्य शाखाले सम्बन्धित सबै महिलाहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई स्वास्थ्य लाभ लिन अनुरोध गरेको छ।

प्रकाशित मिति: २०२६-०२-०२ , समय : १०:३६:१५ , ३ घन्टा अगाडि