चुनावका लागि स्वेच्छिक सहयोग लिन पाइने, तोकेर चन्दा माग्न नपाइने : निर्वाचन आयोग

रुपन्देही खबर , ७४  पटक हेरिएको

काठमाडौँ, माघ २३

निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले चुनाव प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने तर तोकेर चन्दा उठाउन नपाइने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको सीमाभित्र रहेर चुनाव प्रचार–प्रसारका लागि सहयोग संकलन गर्न बाधा नरहेको जानकारी दिनुभयो । तर उम्मेदवार वा राजनीतिक दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न नपाइने उहाँको भनाइ छ ।

उम्मेदवारले चुनाव प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले सो खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने स्पष्ट पार्नुभयो । “चुनावको प्रचार–प्रसारका लागि ‘मलाई यति सहयोग दिनुपर्छ’ भनेर कसैलाई तोकेर माग्न पाइँदैन,” उहाँले भन्नुभयो, “तर स्वेच्छाले सहयोग गर्न चाहनेले उम्मेदवारले चुनाव प्रयोजनका लागि खोलेको खातामा रकम जम्मा गर्न सक्छन्।”

यसैबीच, निर्वाचन आयोगले चुनावका लागि मतपत्र छपाइको कामलाई तीव्रता दिएको जनाएको छ । आयोगका अनुसार हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाइ भइसकेको छ । तीमध्ये ७ हजार १ सय ३७ वटा बाकसमा प्याकिङ सम्पन्न भइसकेको छ ।

प्रवक्ता भट्टराईका अनुसार हालसम्म ३२ जिल्लाका लागि आवश्यक मतपत्रको छपाइ तथा प्याकिङ कार्य पूर्ण भइसकेको छ भने बाँकी जिल्लाहरूका लागि मतपत्र छपाइ तथा व्यवस्थापनको काम युद्धस्तरमा भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-०६ , समय : २१:११:१५ , २ घन्टा अगाडि